गत साता बेइजिङ पुग्नुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तापश्चात् मात्र स्वदेश फर्कने हुनुभएको समाचार प्राप्त भएको छ । सम्बद्ध स्रोतका अनुसार बेइजिङमा उहाँसँग सी जिनपिङनिकटका उच्चाधिकारी तथा नेताहरूसँग छलफल चलिरहेको बुझिएको छ । छलफलका क्रममा चिनियाँ उच्चाधिकारीहरूले राजाको समयमा नेपालको परराष्ट्रनीति परिपक्व रहेको भन्दै प्रशंसा गरेका थिए ।

भेटवार्ताका क्रममा उनीहरूले राजाको समयमा काठमाडौंको लाजिम्पाटस्थित दलाई लामाको कार्यालय हटाएको स्मरण गर्दै नेपालले चीन र भारतको सुरक्षा चासोप्रति संवेदनशीलता दर्शाउनुपर्ने धारणा प्रकट गरेका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङ विदेश भ्रमणमा रहनुभएकोले उहाँ बेइजिङ फर्किनुभएपछि पूर्व श्री ५ को भेटवार्ता हुने र सीसँगको निर्णायक वार्तापश्चात् उहाँ सिङ्गापुर भएर नेपाल फर्कनुहुने बताइएको छ । मङ्सिरको तेस्रो साताभित्र उहाँको नेपाल आगमन हुन सक्ने समाचार स्रोतले जनाएको छ । नेपाल आउनुअघि पूर्व श्री ५ बेइजिङबाट सिङ्गापुर जानुहुने र सिङ्गापुरमा भारतीय मित्रहरूसँग भेटवार्ता गरेर स्वदेश फर्कनुहुने बताइएको छ । ज्ञातव्य छ, गत साता बेइजिङ जानुअघि पनि उहाँ भारतीय मित्रहरूसँगको भेटवार्तामा हुनुहुन्थ्यो । घटना र विचार साप्ताहिकमा खवर छ 

बेइजिङमा उहाँको साथमा पूर्वयुवराज्ञी हिमानी शाह र स्वकीय सचिव सागर तिमिल्सिना पनि रहनुभएको छ । तर, उच्चस्तरीय वार्ताका क्रममा भने पूर्व श्री ५ ले कसैलाई पनि साथमा नराखी एक्लै बस्ने गर्नुभएको समाचार सूत्रले बताएको छ । नेपालमा राजसंस्था पुनर्वहालीबारे अन्तिम निर्णय लिएर उहाँ स्वदेश फर्कनुहुने पनि स्रोतको दाबी छ । यसरी पूर्व श्री ५ बेइजिङ भ्रमणमा जानुभन्दा केही महिनाअघि पूर्वयुवराज्ञी हिमानीले चीनको भ्रमण गर्नुभएको थियो । उहाँको भ्रमणपछि चीनले पूर्व श्री ५ लाई बेइजिङ भ्रमणको निम्ता दिएको थियो । तर, भारतीय मित्रहरूसँग वार्तालाप गरेर मात्र बेइजिङ जानु उपयुक्त हुने ठहरका साथ उहाँले चीन जानुअघि सिङ्गापुरमा भारतीय मित्रहरूसँग वार्तालाप गर्नुभएको बुझिएको छ ।