काठमाण्डौ ।  बैंकले कानुनविपरीत नतोकिएको शीर्षकमा अतिरिक्त शुल्क लिइरहेको निर्माण व्यवसायीले आरोप लगाएका छन् । निर्माण व्यवसायीलाई बैंकहरूले बैंक ग्यारेन्टी जारी गर्दा, एउटा शाखाबाट जारी भएको बैंक ग्यारेन्टी अर्को शाखाबाट बुझिलिँदा बैंक कमिसन सबै भुक्तानी गरी सकेपश्चात् पनि सेवा शुल्कको शीर्षक राखेर थप दस्तुर लिने गरिरहेको महासंघले जनाएको हो । ‘यसरी थप शुल्क लिनु बैंक ऐन–नियम तथा राष्ट्र बैंकको निर्देशनविपरीत हो,’ महासंघका महासचिव रामशरण देउजाले भने । यसअघि नै राष्ट्र बैंकले भने अतिरिक्त शुल्कबारे तोकिएका केही सेवामा बाहेक शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइसकेको छ । 

गभर्नरसँग व्यवसायीको भेट
बैंकिङ क्षेत्रका कारण निर्माण व्यवसायीले भोगिरहेका समस्याबारे महासंघले आइतबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटेर गुनासो गरेको छ । भेटमा व्यवसायीले निर्माण क्षेत्रले झेल्दै आएको बैंकिङ समस्याको विषयमा गभर्नरलाई जानकारी गराउनुका साथै आवश्यक निर्देशनका लागि आग्रह गरिएको महासंघका महासचिव देउजाले जानकारी दिए । गभर्नरसँग व्यवसायीले निर्माण क्षेत्रका लागि अति आवश्यक मेसिनमा सहुलियत ब्याजदरमा आवश्यक कर्जा प्रवाह गर्ने व्यवस्थाका लागिसमेत आग्रह गरेको छ । व्यवसायीहरूले आवश्यक बैंक ग्यारेन्टी दिँदा सम्बन्धित बैंकको प्राथमिक पुँजीको बढीमा २५ प्रतिशतसम्मको मात्र सीमा कायम भएकाले एउटै बैंकबाट बैंक ग्यारेन्टीहरू बनाउन नमिल्ने भई थप जटिलता सिर्जना भएको व्यवसायीहरूको भनाइ छ ।

महासंघले बैंक ग्यारेन्टीको हकमा प्राथमिक पुँजीको ५० प्रतिशतसम्मको सीमा र ऋण सुविधाको हकमा २५ प्रतिशत कायम गर्नका लागि निर्देशन दिन राष्ट्र बैंकलाई आग्रह गरेको छ । हाल विभिन्न बैंकहरूले उपलब्ध गराउँदै आएको बैंक ग्यारेन्टीहरू विभिन्न कारण देखाई समयमा उपलब्ध नगराउने परिपाटीका कारण व्यवसायीहरू मारमा परेको महासंघले जनाएको छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।