काठमाण्डौ । शेरबहादुर देउवा, निर्वाचनको विषयमा : घोषित मितिमा स्थानीय तहको निर्वाचनको विकल्प हामीसंग छैन । कुनै पनि हालतमा तोकिएको मितिमा स्थानीय निर्वाचन हुन्छ । सबै सदस्यहरु आ–आफ्नो जिल्ला र क्षेत्रमा निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्ने गरी लाग्नु होला । कार्यकर्तालाई त्यही अनुरुपको निर्देशन दिनुहोला । मधेसको समस्या समाधान भएको छैन् भनेर निर्वाचन नहुने भन्ने भ्रम छर्न आवस्यक छैन् । मधेस समस्या सुल्झिएर उनीहरुको पनि सहभागितामा निर्वाचन हुन्छ । 

बैठक राख्ने विषयमा : रामचन्द्र जीले सभापतिले केन्द्रिय कार्यसमिति बैठक नराखेर लिखित पत्र नै बुझाउने अवस्था सृजना गरेको भन्दै मेरो आलोचना गर्नुभयो । तर, तपाई आफैले विभिन्न कार्यक्रमका लागि मुलुक बाहिर र मुलुकका अन्य स्थानमा जान प¥यो बैठक केहि समय पछि बसौला भन्नु भएको होइन ? तपाई बाहिरबाट आएपछि बैठक बस्न सल्लाह गर्नु प¥यो भन्दाभन्दै बैठक आव्हानका लागि लिखित पत्र थमाउनु भयो, त्यसमा गल्ती मेरो कि तपाईको ? मैले पार्टीले गर्ने निर्णय सबैको सहमतिमा गर्न खोजेको हो, त्यसलाई मेरो कमजोरी सम्झेमा मेरो भन्नु केहि छैन । म हिजो तपाईहरुको स्थानमा थिएँ । पार्टीभित्रको प्रतिपक्ष हुदाँ कस्तो हुन्छ मलाई राम्रोसंग थाहा छ । त्यही भएर सबैलाई मिलाएर लैजाने प्रयास मैले गरिरहेको छु ।

रामचन्द्र पौडेल, निर्वाचनको विषयमा : हामी मधेसको समस्या समाधान गर्न लागिरहेका छौ । सकभर मधेसका माग संविधान संशोधनमार्फत सम्वोधन गरी उनीहरुको समेत सहभागितामा निर्वाचन सम्पन्न गर्ने हाम्रो चाहना हो । त्यही अनुरुप काम गरिरहेका छौ । अव निर्वाचन सर्ने कुरा हुदैन, एकमत भएर निर्वाचनमा जानुको विकल्प छैन् । स्थानीय तहको निर्वाचनमासबैको ऊर्जा देखिएको छ, त्यसलाई प्रयोग गरेर पार्टीलाई पहिलो बनाउने गरी अघि बढ्नु पर्छ । मलाई स्थानीय तहको निर्वाचन परिचालन समिति संयोजक बनाउने प्रस्ताव सभापतिले गर्दा एकछिन सोचे, बनौ कि नबनौ भनेर । त्यसपछि जिवनभर पार्टीका लागि काम गरेँ, अहिले किन दिइएको जिम्मेवारी पुरा नगर्ने भनेर सहमति जनाएँ । अब व्यवस्थापिका संसदमा रहेको पहिलो पार्टीको हैसियत गुम्न नदिनेगरी स्थानीय निर्वाचन कसरी पार्टीको पक्षमा पार्ने भनेर सबै लाग्नु पर्छ।

बैठक राख्ने विषयमा : पार्टी केन्द्र्रिय समिति बैठक बसेर महत्वपूर्ण निर्णय संस्थागत रुपमा गराैँ भन्दा सभापतिले अन्यथा लिन भएन । बैठक बस्न लिखित पत्र नै दिनु पर्ने अवस्था निर्माण हुनु भएन । सभापति ज्यू तपाईं सबै नेता कार्यकर्ताको नेता हो, हाम्रो पनि नेता हो । एउटा गुटको मात्रै नेता बन्नु भएन, सिंगो पार्टीको नेता बन्न प¥यो । सबैलाई मिलाएर निर्णय गरी एक ढिक्का भई मुलुकमा फैलिरहेको कम्युनिष्टीकरणका विरुद्ध उत्रनु आजको आवस्यकता हो । मलाई व्यक्तिगत रुपमा भन्ने हो भने अव कुनै आश पनि छैन, त्रास पनि छैन । गर्नुपर्ने काम पार्टीका लागि गर्छु । तानाशाही प्रवृत्ति नलाद्नुस्, संगसंगै पार्टीका लागि यात्रा गरौं । त्यो नै सबैका लागि भलोको विषय हुन सक्छ ।

उम्मेदवार छनोटका दुई विधि
१. केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार स्थानीय तहका उम्मेदवारको नाम सम्बन्धित गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगर तथा ती तहका वडा समन्वय समितिले सिफारिस गर्नेछन् । सिफारिस भएका नाममा सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, त्यो क्षेत्रबाट प्रत्यक्ष जितेका सांसद, नभए प्रत्यक्षतर्फका उम्मेदवार र क्षेत्रीय सभापति, निकटतम् प्रतिद्वन्द्वीसमेतको उपस्थितिमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी उम्मेदवारको नाम टुंग्याउनुपर्नेछ । तर, क्षेत्रीय समितिबाट सर्वसम्मत निर्णय नभएमा अहिलेसम्म कायम क्षेत्रीय पदाधिकारी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फका सांसद, नभए प्रत्यक्षतर्फका सांसदका उम्मेदवार, क्षेत्रीय सभापति र उनका निकटतम् प्रतिद्वन्द्वीसमेतको सहमतिमा छनोट गर्नेछ ।

२. दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका र नगरपालिकामा प्रमुख÷उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार छनोट जिल्ला कार्यसमितिले गर्नेछ । उम्मेदवारको नाम सम्बन्धित क्षेत्रले सिफारिस गर्ने र ती नाममा क्षेत्रीय सभापति, जिल्ला सभापति, जिल्ला सभापतिका निकटतम् प्रतिद्वन्द्वी, सम्बन्धित क्षेत्रका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फका सांसद र नभए प्रत्यक्षका उम्मेदवारसमेतको उपस्थितिमा जिल्ला कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्नुपर्नेछ । सर्वसम्मत निर्णय हुन नसके जिल्ला पदाधिकारीसहित जिल्लाका पार्टी केन्द्रीय सदस्य, प्रत्यक्षतर्फ जितेका सांसद, नजितेको भए उम्मेदवार र जिल्ला सभापति, उनका निकटतम् प्रतिद्वन्द्वीसमेतको सहमतिमा उम्मेदवार छनोट गर्ने मापदण्ड केन्द्रीय समितिले बनाएको छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।