काठमाण्डौ । ज्योति विकास बैंकले आगामी बैशाख २८ गतेदेखि सतप्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । 

बैंकले आइतबार एक सूचना प्रकाशित गरी १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद बिक्री खुल्ला गरिने जानकारी दिएको हो । जेठ ३१ गतेसम्म हकप्रदका लागि आवेदन दिन पाइनेछ । 

यो बैंकको हकप्रदका लागि बुक क्लोजको मिति बैशाख १४ लाई तोकेको थियो । यसको अर्थ बैशाख १३ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । 

यो बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालय र ज्योति विकास बैंकका देशभरका शाखा कार्यालयहरुबाट हकप्रदका लागि आवेदन भर्न पाउनेछन् । 

सतप्रतिशत हकप्रद बिक्रीपछि ज्योति विकास बैंकको चुक्तापूँजी २ अर्ब २० करोडको उचाईमा पुुग्नेछ । नेपाल राष्ट्रबैंकको व्यवस्था अनुसार राष्ट्रिय स्तरको विकास बैंक बन्न २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड चुक्तापूँजी पुगिसकेको हुनुपर्छ ।