काठमाण्डौ । सेयर कारोबारमा सेमी-अनलाइन प्रणाली सुरुवातको अन्तिम तयारीमा रहेको धितोपत्र बोर्डले पूर्ण अनलाइन आस्वा प्रणाली विकासको गृहकार्य समेत थालेको छ । 

हाल केही बैंकले मात्र अनलाइनबाट सेयरका सार्वजनिक निश्कासनको बेला अनलाइन आवेदन दिनसक्ने व्यवस्था मिलाएको उल्लेख गर्दै त्यो भन्दा अझ व्यवस्थित पूर्ण अनलाइन प्रणाली विकासको गृहकार्य थालिएको हो । 

बोर्डले शुुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै हाल केही बैंकले मात्र अनलाइनबाट सेयरका सार्वजनिक निश्कासनको बेला अनलाइन आवेदन दिनसक्ने व्यवस्था मिलाएको उल्लेख गर्दै त्यो भन्दा अझ व्यवस्थित पूर्ण अनलाइन प्रणाली विकासको गृहकार्य थालिएको बताएको हो । 

बोर्डका अनुसार सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडको सहकार्यमा सम्पूर्ण आस्वा सदस्यहरुलाई विन्डोज प्रदान गरी डाटामा पहुँच दिई पूर्ण अनलाईन आस्वा प्रणालीको बिकास गर्ने सम्बन्धमा हालै छलफल समेत भएको छ । सोही बमोजिम सिडिएससी, मर्चेन्ट बैंकर एशोसियसनका प्रतिनिधी लगायतसंग छलफल गरी आवश्यक कार्य अगाडि बढाइएको बताइएको छ । आस्वा पूर्ण अनलाइन प्रणालीमा गए यसले धितोपत्र सार्वजनिक निश्कासनको क्रममा लगानीकर्ताहरुले भोगिरहेका धेरै समस्या हल हुने बताइएको छ । 

बोर्डले हालै आस्वा प्रणालीको कार्यान्वयनको बिषयमा राखेको छलफलमा सहभागीहरुले आश्वा शुल्कलाई परिमार्जन गर्न, दरखास्त फारमलाई अझ सरलिकृत गर्न तथा आस्वा सदस्य बैंकबाट मर्चेन्ट बैंकलाई दरखास्त फारम भौतिक रुपमा नपठाई तथ्याङ्कहरु मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन सुुझाव समेत दिएका थिए । 

यसैगरी, बोर्डले हालै आस्वा प्रणालीलाई अझ प्रभावकारी बनाउन बोर्डबाट आस्वा सदस्यता प्राप्त सात वाणिज्य बैंक, दुई बिकास बैंक तथा दुई फाईनान्स कम्पनीमा स्थलगत निरीक्षण समेत गरुको छ । सो क्रममा बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई आवेदन फाराम संकलन प्रकृया सम्बन्धमा थप अभिमुखीकरण गर्न, आवेदन फाराम संकलनको रिपोर्टिड समयमै गर्न तथा  प्रणालीगत सुक्ष्म निरीक्षण गरी सञ्चालन जोखिम सम्बन्धमा सचेत गराइएको बताइएको छ । बोर्डका अधिकारीहरुले अनलाईनबाट समेत शेयर फारम भर्न मिल्ने व्यवस्था गराउने बैंकको समेत निीक्षण गरेका थिए । 

यस्तै, बोर्डले हालै प्रमुख बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोर्डमा आस्वा प्रणाली कार्यान्वयन सम्बन्धमा छलफल कार्यक्रमको आयोजना गरी आस्वा प्रणालीलाई अझै व्यवस्थित एवं  प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया समेत गरेको छ । 

बोर्डले धितोपत्रको सार्वजनिक निष्काशन हुदाँका बखत लगानीकर्ताबाट दरखास्त फारम संकलन र सोसँग सम्बन्धित काम गर्न धितोपत्र खरिद सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका, २०७३ को व्यवस्था बमोजिम आस्वा प्रणाली यही माघदेखि लागू गरेको हो । हालसम्म सो प्रणालीको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, यूनाईटेड मोदी र स्ट्याण्डर्ड चार्टर्ड बैंङ्क गरी तीन संस्थाले सफल प्रयोग गरिसकेका छन् । यी तीन कम्पनीको सार्वजनिक निश्कासनको क्रममा आस्वा प्रणालीमा औसतमा संकलित रकमको आधारमा ५० प्रतिशत तथा संकलित आवेदन फारमको आधारमा ४५ प्रतिशत भन्दा बढी संकलन भएको र यसले आस्वा प्रणालीमा लगानीकर्ता आकर्षित हुँदै गएका देखिएको बोर्डले जनाएको छ ।