काठमाण्डौ । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु(बहिरा)का लागि सहुलियत दरमा भिडियो कल सेवा उपलब्ध गराउने कार्य आरम्भ गरेको छ । 

कम्पनीको मोबाइल नम्बरमा कम्पनीको नेटवर्कभित्रका लागि मात्र उपलब्ध गराइने भिडियो कल सेवाको महसुल प्रतिमिनेट ५० पैसा (कर बाहेक) तोकिएको नेपाल टेलिकमले जनाएको छ । 

हाल यो योजनामा आबद्ध सिमहरुमा २०७३ असार ३१ गतेदेखि नै सहुलियत दरको यो सेवा उपलब्ध गराउन थालिसकिएको छ । बहिरा अपांगताको पहिचान खुल्ने कागजातसहित नेपाल टेलिकमको काउण्टरमा सम्पर्क गरी रु ९० मा रु ५० को टक टाइम भएको सीम मार्फत यो प्याकेज प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी, २०६२÷०६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई एक पटकका लागि जिएसएम प्रविधिको प्रिपेड सिम वा सीडीएमए प्रविधिको रिम कार्ड एक थान निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरिएको टेलिकमले जनाएको छ । यस अनुसार २०७३ श्रावण ३ गतेदेखि निःशुल्क सिम तथा रिम उपलब्ध गराउने योजना रहेको बताइएको छ । 

टेलिकमले जारी गरेको विज्ञप्ति अनुसार जनआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्रसहित एक प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ । त्यसैगरी शारीरिक अपांगता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र(रातो कार्ड)सहित एक प्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ । यी सबै सेवाका लागि नेपाल टेलिकमको आफूलाई पायक पर्ने काउन्टरमा सम्पर्क राख्न सकिनेछ ।  

निःशुल्क सिम वा रिम कार्ड उपलब्ध गराउने योजना आगामी २०७३ माघ मसान्तसम्म मात्र लागू हुनेछ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ल्याएको यो योजनाले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु तथा जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा अपांगता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने टेलिकमले अपेक्षा गरेको छ ।