काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप र कर्जातर्फको ब्याजदर बढाउन थालेपछि यसको प्रभाव पूँजीबजारमा पर्न थालेको देखिएको छ । 

ब्याजदरमा वृद्धि, दशैंको चहलपहलपछि बजारमा यथेष्ठ लगानीकर्ता अझै उपस्थित हुन नसक्नु र अधिकांश कम्पनीहरुले लाभांश  घोषणा गरिसकेका कारण नाफा बुक गरेर सेयर बिक्री गर्ने चाप बढेपछि आइतबार र सोमबारको तुलनामा मंगलबार पूँजीबजार थप सुस्ताएको छ । 

दशैंको विदा सकिएर खुलेको पूँजीबजार निरन्तर रुपमा ओरालो झरिरहेको छ । आइतबार ६० करोडको हाराहारीमा कारोबार भएकोमा सोमबार ३ करोडले बढी ६३ करोड बढीको सेयर कारोबार भएको थियो । तर मंगलबार कारोबार सोमबारको तुलनामा करिब १३ करोडले घटेर ५० करोडमा खुम्चिन पुगेको हो । 

नेप्से परिसूचक ०.६६ अंकले घटेर १७९२.७० मा झरेको छ भने चारवटा समूह घटी बाँकी ३ समूहको सूचकमा बढोत्तरी भएको छ । 

कुल कारोबारमा मंगलबार पनि वाणिज्य बैंक समूहकै बर्चश्व रह्यो । यो समूहको परिसूचक २.९१ अंकले घटे पनि कारोबार चाहि २९ करोड ३९ लाख रुपैयाँ बराबरको भयो । यस्तै, विकास बैंक समूहमा ४.०३, जलविद्युतमा १०.३३ र बित्त समूहमा ३.३६ अंकको गिरावट आयो । 

बिमा समूह ८.९५ अंकले बढ्यो भने होटल समूह ५.५८ र अन्य समूह १०.९९ अंकले उक्लिए । 

कुल ११५ कम्पनीका ७ लाख कित्ता किनबेच भएको बजारमा बिमा समूहले १० करोड बराबरको कारोबार गरी दोश्रो स्थान लियो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार र सोमबार झै मंगलबार पनि कुमारी बैंक लिमीटेड नै चम्कियो । यो बैंकको ४ करोड ७९ लाखको कारोबार भयो । बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ३ करोड ८५ लाख बराबरको कारोबार गर्यो । एभरेष्ट बैंक २ करोड ४९ लाख कारोबारमा खुम्चियो भने शिखर इन्स्योरेन्सको २ करोड ११ लाख बराबरको मात्र कारोबार भयो । नेपाल बैंक लिमीटेडको करिब २ करोड बराबरको सेयर किनबेच भयो । 

धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंक, २ स्थान बिमा र १ स्थान विकास बैंकले ओगट्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
नेप्से परिसूचक घटेर कारोबार रकममा १३ करोडले कमी हुँदा समेत दुई कम्पनीले पैसा छापे । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेड र कामना विकास बैंक लिमीटेडको सेयर मूल्यमा क्रमशः ९.९५ र ९.४५ प्रतिशतको वृद्धि भयो । तिनाउ डेभलपमेन्ट बैंक लिमीटेडको सेयर मूल्य पनि ६ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

मंगलबार रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले धेरै गुमाउनुपर्यो । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले पनि धेरै गुमाउन पुगे । यो कम्पनीे सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्न पुग्यो । 

नेपाल ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष नन्दकिशोर मुन्दडाले ब्याजदर धेरै बढ्दैछ भन्ने गलत हल्ला चलाइएका कारण त्यसको प्रभाव पूँजीबजारमा परेको दाबी गरे । उनका अनुसार ब्याज दरमा बढोत्तरीले सेयर बजारमा पर्ने असर सामान्य मात्र हुने, यसकै कारण ठूलो गिरावट आउदैन । उनका अनुसार उपत्यका बाहिर गएका अधिकांश लगानीकर्ता तिहार मनाएर मात्र फर्किने भएका कारण समेत बजार सुस्त बनेको हो । ‘तिहारपछि अहिलेको बजार बुम हुन्छ ।’–उनले भने ।