काठमाण्डौ । पछिल्लो समय बढेको कर्जाको ब्याजदर घट्न अझै केही समय लाग्ने सम्बन्धित क्षेत्रका विज्ञले बताएका छन्। बजार केही सहज भए पनि सामान्य अवस्थामा पुग्न अझै यो आर्थिक वर्ष कुर्नुपर्नेछ। 

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले ब्याजदर तत्काल घटाउन नसकिने जानकारी दिएका छन्। बैंकहरूले क्रेडिट क्रन्च भएको भन्दै करिब ४ महिनाअघि निक्षेप र कर्जा दुवैको ब्याजदर बढाएका थिए। 

अहिले कर्जाको ब्याजदर १५ देखि १६ प्रतिशतको बीचमा छ। केही समय अघिसम्म कर्जाको ब्याजदर प्रडक्टका आधारमा सात/आठ प्रतिशतको हाराहारीमा थियो। क्रेडिट क्रन्च भएपछि पुरानो कर्जाको समेत ब्याजदर बैंकर्सले बढाएका छन्। 

गत वर्षको चैतसम्म बचतको दुई र निक्षेपको चार/पाँच प्रतिशतको हाराहारीमा थियो। उक्त ब्याजदर बढेर क्रमशः बचत खातामा ५ देखि ८ र संस्थागत मुद्दती साढे १३ र व्यक्तिगत १२ प्रतिशत पुगेको छ। 

छोटो समयका लागि ६/सात प्रतिशत रहेको ब्याजदरसमेत बढेर ११ र १२ प्रतिशतसम्म पुगेको छ। बैंकहरूले गत चैतदेखि नै ब्याजदर बढाउन सुरु गरे पनि उच्च बिन्दुमा पुगेको भने चार महिना यता मात्र हो।

गत चैतदेखि यो चैतसम्म आइपुग्दा तीन प्रतिशतले लागत मूल्य बढी सकेकाले पहिला जस्तो ६/सात प्रतिशतमा कर्जाको ब्याजदर कायम भने नहुने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले जानकारी दिए। 

उनका अनुसार १२ प्रतिशतमा कर्जा लिएर १५/१६ प्रतिशतमा कर्जा प्रवाह गर्दा बैंकलाई नाफा हुँदैन, सञ्चालनसम्म मात्र हुने हो। स्थानीय चुनाव र दोस्रो चौमासपछि पुँजीगत खर्च हुने आशमा बैंकले यस आवको अन्त्यसम्म सामान्य अवस्था पुग्ने बताए पनि ब्याजदर भने पहिलो जस्तो पाँच/छ प्रतिशको हाराहारीमा नओर्लने अध्यक्ष शाहले बताए। 

‘राष्ट्र बैंकले निर्धारण गरेको स्पे्रडदरको अन्तरमा ब्याजदर कायम हुनेछ', उनले भने, ‘अहिलेको जस्तो कर्जाको ब्याजदर १५ प्रतिशतमा पनि बस्दैन, पाँच प्रतिशतमा पनि ओर्लंदैन।' 

यहाँ २८ वटा वाणिज्य बैंक छन्, बैंक नै पिच्छेका सञ्चालक तथा सीईओ र आफ्नै रणनीतिक योजना छन्। कार्टेलिङ भएको भए यति नै ब्याजदर रहन्छ भन्न सकिन्थ्यो। तर, बैंकहरू राष्ट्र बैंकको नियम र नियन्त्रणअनुसार चल्ने भएकाले यही भित्र रहने छन्। ब्याजदरका विषयमा छलफल गर्न बुधबार बैंकर्स संघका अध्यक्ष, बंैकर्स टोली र राष्ट्र बैंकबीच छलफल हुँदैछ। यो समाचार आजको अन्नपूर्णमा छापिएको छ ।