काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीको शाखा(आरएसडब्ल्यू) बिस्तारका लागि नेप्सेको तयारीमा धितोपत्र बोर्डले ब्रेक लगाइदिएको छ ।

नेप्सेका केही अधिकारीले बोर्डको यो कार्यलाई हलो अड्काउने पुरानै प्रवृतिको पुनरागमन भनेका छन् । 

विगत लामो समयदेखि नेप्से र बोर्डका अधिकारीहरुबीच जुँगाको लडाईं चल्दै आएको छ । लगानीकर्ताहरुले आन्दोलनको सुरुवात गरेकै दिन अर्थ मन्त्रालयले दुवै निकायका अधिकारीलाई  बोलाएर छलफल गराई अबदेखि एकअर्काविरुद्ध नलाग्ने प्रतिबद्धता व्यक्त गर्न लगाए पनि उनीहरुबीचको दन्द भने भित्रभित्रै चर्किरहेको स्रोतहरु बताउँछन् । बोर्डले त्यही पुरानो रीस फेर्न स्वीकृतिका लागि नेप्सले ब्रोकरहरुबाट रोजिएका शाखाको सूचिसहित पत्र पठाउँदा समेत तयारी नपुगेको भन्दै फिर्ता पठाइएको हो । 

नेप्सेले दलालहरुको शाखा बिस्तारका लागि स्टक ब्रोकर एशोसिएसनको सिफारिस अनुसार देशका विभिन्न ठाउँमा जान चाहने ब्रोकरहरुको सूचिसहित धितोपत्र बोर्डमा स्वीकृतिका लागि पत्र पठाए पनि बोर्डले पूर्वाधारहरुमा समेत स्पष्ट हुनुपर्ने भन्दै सम्बद्ध निकायका प्रतिनिधिको सहभागितामा छलफल गराई ती विषयमा नेप्सेको पुनः राय मागेको हो । 

बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेड तथा  धितोपत्र दलाल व्यवसायीहरुको प्रतिनिधिहरु समेतको सहभागितामा पुस १७ गते बैठक बसी ती पूर्वाधारहरु तयार गरी पठाउन भनेको छ । सो क्रममा बोर्डले धितोपत्र दलाल व्यवसायीहरुको शाखा विस्तारका लागि  उनीहरुको पूँजी, आवश्यक भौतिक पूर्वाधार, जोखिम व्यवस्थापन, आवश्यक जनशक्ति तथा सोको व्यवस्थापन, नेप्सेको कारोवार प्रणाली तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमीटेडको राफसाफ तथा फछ्र्यौट कार्य व्यवस्थापन तथा सो कार्यसंगको जोखिम एवं जोखिम न्यूनिकरण लगायतका विषयहरुमा स्पष्ट गरेर मात्र कार्य अगाडि बढाउन निर्देशन दिएको छ । ‘यसो गर्दा अन्तर्निहित जोखिम न्यूनिकरण भई लगानीकर्ताहरुले सहज रुपमा सेवा पाउनसक्ने भएकोले यस सम्बन्धमा नेप्सेको राय तथा सिफारिश लिन उपयुक्त देखिएको छ ।’ बोर्डले विज्ञप्तिमा भनेको छ–‘यी विषयहरुमा नेप्सेको राय तथा सिफारिस पेश गर्नका लागि निर्णय भए बमोजिम नेप्सेलाई अनुरोध गरिएको छ ।’ 

बोर्डले नेप्सेको राय तथा सिफारिस बोर्डमा प्राप्त भएपछि मात्र शाखा बिस्तार सम्बन्धी कार्य अगाडि बढ्ने स्पष्ट पारेको छ ।