काठमाण्डौ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले ब्रोकरहरुलाई राजधानी बाहिर आरडब्ल्यूूएस(रिमोट वर्क स्टेशन) बिस्तारका लागि थालिएको प्रक्रिया स्थगित नभएको प्रष्ट्याएका छन् । 

बिजशालासँग कुरा गर्दै उनले आरडब्ल्यूूएस बिस्तारको योजना जारी रहेको र कानूनमा रहेका केही अप्ठ्याराहरुको गाँठो फुकाउने कामलाई समेत सँगसँगै अगाडि बढाउने आफूहरुको योजना रहेको प्रष्ट्याए । 

धितोपत्र बजारलाई राजधानी बाहिर लैजानका लागि समेत ब्रोकरहरुलाई आरडब्ल्यूूएस बिस्तारको प्रक्रिया स्थगित गर्ने योजना छैन र त्यस्तो काम भएको पनि छैन । उनले भने ः तर हामीले कानूनी पाटो पनि केही हेर्न खोजेका हौ, ताकि भोलिका दिनमा कुनै कानूनी अड्चन नआओस् । उनले कानूनमा आवश्यक केही सामान्य संसोधन नै आवश्यक परे पनि केही दिनमै यो काम फत्ते हुने भन्दै यसका लागि जारी प्रक्रिया नै स्थगित गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए । उनले अहिलेको कानूनले आरडब्ल्यूएसलाई समेत प्रष्ट रुपमा परिभाषित नगरेकोले सामान्य संसोधन हुनसक्ने बताए । ब्रोकरहरुको शाखा बिस्तारका लागि आवश्यक पूँजी, पूर्वाधार लगायतका बिषयलाई समेत कानूनी व्यवस्थामा समेट्ने कि भन्ने छलफल समेत जारी रहेको उनले जानकारी दिए । 

सेयर लगानीकर्ता संघको आन्दोलनपछि नेपाल धितोपत्र बोर्डले नेप्सेको सिफारिसमा ४१ ब्रोकरहरुलाई आरडब्ल्यूूएस बिस्तारको प्रक्रिया अगाडि बढाएको थियो । बोर्ड र नेप्सेले यो अग्रसरता लिनुुअघि नै देशभरका ५ शहरमा ९ ब्रोकरहरुको आरडब्ल्यूूएस बिस्तार भइसकेका छन् । सबैभन्दा बढी पोखरामा ४ वटा रिमोट वर्क स्टेशन रहेका छन् । त्यस्तै, विराटनगरमा २, धरानमा १, नारायणगढमा १ र धनगढीमा एउटा आरडब्ल्यूूएस क्रियाशील छन् । 

बोर्डबाट नै प्रक्रिया अगाडि बढेपछि पछिल्लो समय राजधानी बाहिर सेवा बिस्तारको अनुमति पाएका ब्रोकरहरुले विभिन्न ठाउँमा कार्यालय सेटअप गरी बोर्ड समेत लगाइसकेका छन् । 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले शाखाका लागि लगानी भइसकेको अवस्थामा बोर्डले बाँकी प्रक्रियालाई समेत तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।