काठमाण्डौ । भारु ५ सय र १ हजारको नोटमाथि प्रतिबन्ध लगाएपछि बैंक तथा बित्तीय संस्थाहरुले भनेजति रकम सर्वसाधारणलाई नदिएको र कालोधनलाई सेतो बनाउन गिरोह नै सक्रिय रहेपछि आक्रोशित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैंक अधिकारीलाई सार्वजनिक रुपमै कडा कारबाहीको चेतावनी दिएलगत्तै गोप्य रुपमा एक निकै कडा कदम उठाएका छन् । 

स्रोतहरुलाई हवाला दिंदै भारतीय संचारमाध्यमले प्रकाशन गरेका मिडिया रिपोर्टका अनुसार बैंकहरुमा भइरहेको नयाँ नोटहरुको गडबडीको खबरपछि मोदीले देशका करिब ५ सय बैंक शाखाहरुमा स्टीङ अपरेसन गराएका छन् । यो स्टीङमा निजी र सरकारी दुवै खालका बैंकका शाखाहरु रहेका बुझिएको छ । 

एबीपी न्यूजका अनुसार केही बैंकर तथा बैंक कर्मचारी, दलाल र जालसाँजी गर्नेहरुको मिलीभगतमा पुरानो नोटलाई नयाँ नोटसँग साट्ने गरेको प्रमाण समेत मोदीको साथमा पुुगिसकेको छ । बैंकहरुले पुराना र नयाँ नोटको बीच गडबडी नगरेका भए मानिसले नगदका लागि लामो लाइनमा घण्टौ कष्ट भोगेर बस्नु नपर्ने मोदीको बुुझाई छ । यस्तो गडबडीमा सामेल बैंक अधिकारीहरुलाई कडा कारबाही गर्ने सरकारी तयारी छ । भारतका कयौं बैंकका शाखाका अधिकारीहरुको मिलेमतोमा कालोधनलाई सेतो बनाइएको खबर समेत यसअघि संचारमाध्यमहरुमा प्रकाशित भएका थिए । 

स्रोतलाई हवाला दिंदै मिडिया रिपोर्टमा बताइए अनुसार मोदीको स्टिङ अपरेसनमा ठूलादेखि साना शहरका बैंक शाखाहरु समेत परेका छन् । 

गत नोभेम्बर ८ मा मोदीले ५ सय र १ हजार भारु नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए । भारतको अर्थव्यवस्थामा ८६ प्रतिशत नगद ५ सय र १ हजारको नोटले कभर गरेको थियो । 

हालैको एक भाषणमा प्रधानमन्त्री मोदीले जनतालाई नोटबन्दीबाट उत्पन्न कष्टलाई डिसेम्बर ३० सम्म सहिदिन अपील गरेका छन् । सरकारले ऊविरुद्ध परेको एक मुद्धाको सिलसिलामा त्यहाँको सुप्रिम कोर्टमा समेत अबको १५ दिनमा नोटबन्दीबाट बिग्रिएको हालत सुध्रिने बताइसकेको छ । यही बेला सरकारले कालोबजारी हुर्काउनेहरुलाई कडा कारबाहीको तयारीमा जुुटेको छ । 

सरकारले पूरा देशमा कालोधनलाई सेतो बनाउने समूह र उनीहरुलाई सघाउने बैंक कर्मचारीहरुलाई निगरानीमा राखेर कारबाही अगाडि बढाएको बताइएको छ । केही समयअघि मात्र सरकारी अनुसन्धान अधिकारीले पुरानो दिल्लीको काश्मिरी गेटमा अवस्थित एक्सिस बैंकको शाखामा काम गर्ने दुुई प्रबन्धक शोभित सिन्हा र विनित गुप्तालाई यस्तै गडबडीमा सामेल भएको भन्दै गिरफ्तार गरिसकेका छन् । उनीहरुले कर विज्ञ राजीव सिंहले कयौं ठूला व्यापारीसँग रहेको कालोधनलाई सुनलाई प्रयोग गरी सेतो बनाउने काम गरेका बयान दिएका छन् । सिंह भने फरार रहेका त्यहाँका संचारमाध्यमले जनाएका छन् ।