नयाँदिल्ली । भारतका बैंकहरुमा युनियनहरुको आह्वानमा हड्ताल सुरु भएको छ । मंगलबारदेखि सुरु भएको हड्तालमा २२ हजार करोड भन्दा बढीको चेक क्लियर हुन नपाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यसका साथै भारतभरका बैंकका शाखाहरुमा ठूलो मात्रामा पैसा जम्मा हुने र झिक्ने काम समेत नराम्ररी प्रभावित भएको छ । 

अल इण्डिया बैंक इम्प्लोइज एशोसिएसन(एआइबीइए)का महासचिव वेंकट चलमले देशभरका बैंकहरुमा आयोजना गरिएको हड्ताल शानदार रुपमा सफल भएको छ । भारतीय जनता पार्टीको शासन रहेका राज्यहरुमा समेत हड्तालको पूर्ण असर देखिएको छ । 

देशका एसबीआई, पिएनबी लगायत २७ बैंकका कर्मचारीहरु मंगलबार दिनभरि हड्तालमा रहे । यसका कारण बैंकको कामकाज ठप्प रह्यो भने चेक क्लियरेन्स लगायत शाखामा हुने अन्य काम पनि प्रभावित भएका छन् । हड्तालको सबैभन्दा ठूलो असर लेफ्ट पार्टी सक्रिय भएको क्षेत्रमा देखिएको छ । 

तर, यो हड्तालमा भारतीय मजदूर संघ सम्बद्ध बैंक युनियनहरु भने सामेल छैनन् । 

किन भयो हड्ताल ?
महासचिव वेंकट चलमले हड्तालको कारण उल्लेख गर्दै भनेका छन्–‘हामी बैंकहरुको निजीकरणको विरोधमा छौ । हाम्रो दोश्रो माग भनेको बैंकहरुले खराब ऋण तत्काल रिकभर गरुन् भन्ने हो । बैंकमा अझै २ लाख भ्याकेन्सी छ, यी रिक्त ठाउँमा छोटो सम्झौताको आधारमा नभई स्थायी पदपूर्ति गर्ने हिसाबले कर्मचारीहरुलाई सेट गरियोस् भन्ने हाम्रो तेश्रो माग हो ।’ 

उनले आफ्ना मागहरुको बिषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया नजनाएको बताए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताएका छन् । 

युनियनहरुले नोटबन्दीको समयमा ड्यूटी अवधि भन्दा बढी काम गरेका कर्मचारीहरुलाई ओभरटाइम बापतको पारिश्रमिक समेत दिनुपर्ने माग पनि राखेका छन् ।