पथरी (मोरङ) । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्यांकर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो । 

माग गरेअनुसारको पेट्रोल उपभोक्ताले सहजै पाउन भन्ने उद्देश्य राखेर निगमको क्षेत्रीय कार्यालयले सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको निगमका पूर्व क्षेत्रीय प्रमुख दिनेश यादवले बताए । ‘अब पूर्वक्षेत्रमा पेट्रोलको अभाव हुनेछैन।’ प्रमुख यादवले भने–‘उपभोक्ताले माग गरेअनुसारकै पेट्रोल उपलब्ध गराउन निगम तयार छ ।’

निगमले यसअघि बरौनी रिफाइनरीबाट मात्र पेट्रोल आयात गरिरहेको थियो । बरौनीबाट दैनिक १० ट्यांकर अर्थात् एक लाख २० हजार लिटर आयात हुने पेट्रोलले माग पूरा गरिरहे पनि सहजता भने थिएन । बरौनी र सिलिगुढीबाट दैनिक आउने २० ट्यांकर को कुल दुई लाख ४० हजार लिटर पेट्रोल पूर्वको मागभन्दा उच्च देखिन्छ । बरौनी रिफाइनरीबाट दैनिक ३५ ट्यांकर डिजेलसमेत आयात भइरहेको छ । 

त्यस्तै, आवश्यकताअनुसार मट्टितेलको पनि आयात भइरहेको निगमले जनाएको छ । हाल निगमको भण्डारमा ५५० केएल पेट्रोल र चार हजार केएल डिजल मौज्दात रहेको निगमले दाबी गरेको छ । 

यसैबीच, निगमले ट्यांकर को व्यवस्थित पार्किङस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । निगमको हाताभित्रै पार्किङस्थलको निर्माण पूरा गरेर सडकमा देखिएको ट्राफिक समस्या समाधान गर्ने निगमको योजना छ । निगमको पूर्व क्षेत्रीय कार्यालयले गत चैत २७ गते सार्वजनिक सूचनासहितको टेन्डर आह्वान गरेपछि शिवालय एनसी निर्माणसेवा जेभी, काभ्रेले ४८ लाखको लागतमा पार्किङस्थल निर्माणको ठेक्का लिएको हो । 

पूर्व क्षेत्रीय प्रमुख यादवले आउँदो भदौसम्ममा पार्किङस्थलको निर्माण कार्य पूरा भइसक्ने र असोजको पहिलो साताबाटै सञ्चालनमा आउने बताए । कुल १२ कट्ठा जमिनमा निगमको हाताभित्रै ट्यांकरको पार्किङस्थल निर्माण भइरहेको छ । भारतको बरौनी रिफाइनरीबाट पेट्रोलियम पदार्थ बोकेर आएका सयौ ट्यांकर लाई पार्किङस्थलमा व्यवस्थित ढङ्गले राखिने निगमले जनाएको छ । 

पार्किङस्थलमा एकै पटक २०० वटा ट्यांकर अट्नेछन् । सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौती बनिरहेको र्याडलाई व्यवस्थित बनाउने क्रममा जग्गामा ग्राभेल, घेरबार गरिनेछ भने पार्किङ स्थलमा सुरक्षा पोस्टसमेत राख्ने योजना छ । पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको संख्या हाल २२५ को हाराहारीमा छ ।