काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको सरकारी च्यानल ‘राज्यसभा टेलिभिजन’लाई तीन साताअघि दिएको एक अन्तर्वार्ता एकाएक चर्चामा आएको छ । टेलिभिजनका पत्रकार अखिलेश सुमनले तीन साताअघि लिएको र मार्च २० मा प्रसारण भएको अन्तर्वार्तामा व्यक्त ओलीको चोटिला जवाफका कारण ढिलै भए पनि सो अन्तर्वार्ता एकाएक चर्चामा आएको हो । आखिर ओलीले राज्यसभा टेलिभिजनको ‘तरकश’ नामको टक शोमा दिएको २६ मिनेट लामो अन्तर्वार्ता ढिलै भए पनि कसरी एकाएक चर्चामा आयो ? किन र के कारणले चर्चामा ल्याइयो ? ओलीले अन्तर्वार्तामा के भनेका होलान् ? धेरैमा यो जिज्ञासा छ । 

प्रधानमन्त्री ओलीले पत्रकार अखिलेश सुमनका प्रश्नहरुको चोटिला र आक्रामक जवाफ दिएका छन् । ढिलो गरी नेपालीमाझ भाइरल भइरहेको सो अन्तर्वार्ताको क्रममा उनले मधेशीहरुलाई कुनै विभेद नगरेको र नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको पटक–पटक दाबी गरेका छन् । राष्ट्रियताको भावना र देशभक्तिले ओतप्रोत ओलीको विचारको धेरैतिरबाट प्रशंसा भइरहेको छ । कतिपयले प्रधानमन्त्री भएर ओली सम्हालिएर बोल्नुपर्ने टिप्पणी गरिरहेका छन् । 

अन्तर्वार्ताकारले ‘नेपालको संविधान विभेदपूर्ण छ नि’ भनी गरेको प्रश्नमा ओलीले भनेका छन्–‘तपाईंले प्रश्न गर्नुभयो । मलाई आशा छ, तपाईंले नेपालको संविधान पढ्नुभएको होला । छैन भने म तपार्इंलाई संविधानको एक प्रति दिन्छु । नेपाली जनताले लामो संघर्षपछि आफ्नो लागि बनाएको संविधान हो यो ।’ उनले संविधानले मधेशीलाई दोश्रो दर्जाको नागरिक सम्झिएको भनी भ्रम  फैलाइएको र नागरिकतामा समान अधिकार छैन भनेर समेत दिग्भ्रमित पार्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । 

उनले मधेशवादी दलहरुले संविधानभित्रको प्रावधानको विषयलाई देखाउने दाँत बनाई आफ्नो निश्चित राजनीतिक उद्देश्यका लागि आन्दोलनमा उत्रिएका आरोप समेत लगाएका छन् । उनले मधेशवादी दल र अन्तराष्टिय समुदायले बुझेको मधेश र मधेशीको परिभाषा नै  भ्रमपूर्ण रहेको टिप्पणी गरेका छन् । ‘तपाईंलाई एउटा कुरा बताउँ । म पहाडमा पैदा भएँ । तराईमा आएँ । तराई आएको ५५ वर्ष भयो । आज उनीहरुको परिभाषाले मलाई मधेसी मान्दैन । हामीभन्दा कयौं वर्षपछि भारतबाट आएर नागरिकता लिएकाहरुले आफूलाई धर्तिपूत्र बताउँछन् ।’ ओलीले भनेका छन्–‘जबकि उनीहरुभन्दा पुस्तौं अगाडिदेखि तराईमा आएर बसेका नागरिकहरु छन् । कसलाई पहाडी भन्ने कसलाई मधेसी ? तिवारी, पाण्डे कहाँका हुन् ? यादव को हुन् ?’

अन्तर्वार्ताकारले सोधेको मधेशी समुदायको राजनीतिक भागिदारी र प्रतिनिधित्व समेत कम भयो भन्ने आशयको प्रश्नको समेत ओलीले चोटिलो जवाफ दिएका छन् । प्रम ओलीले प्रश्न गर्दै भनेका छन्–‘नेपालको जम्मा भूगोलको १७ प्रतिशत मात्रै मधेस रहेको, पहिले देशभरिमा २४० निर्वाचन क्षेत्र थिए । ती मध्ये आठ प्रदेश हिमाली क्षेत्रलाई दिइयो । बाँकी २३२ रह्यो । २३२ मध्ये ११६ तराई र ११६ पहाडलाई दिइएको छ । अन्याय कहाँ भयो ? केवल १७ प्रतिशत भूगोलबाट ५० प्रतिशत प्रतिनिधित्व भएको छ । खोई अन्याय ?११६ सिटमध्ये हामीले १०५ सिट जितेका छौं । उनीहरुले जम्मा ११ जनाले जितेका छन् । भने मधेसका प्रतिनिधि उनीहरु कि हामी ? उनीहरु कसरी मधेसका मसिहा ?’

उनले मधेशवादी दलहरुले आन्दोलन गर्छौ भनेर बार्गेन गरिरहेका आरोप समेत लगाएका छन् । 

प्रश्नकर्ताले गरेको ‘नेपालमा भारतले नाकाबन्दी लगाएको हो भन्ने भ्रम तपाईंहरुमा थियो । त्यो चाहिँ तोडियो कि तोडिएन ?’ भन्ने प्रश्नको ओलीले निकै घुमाउरो ढंगले चोटिलो जवाफ दिएका छन् । उनले उत्तरमा भनेका छन्–‘एकपटक एकजना पत्रकारले मलाई सोधे, ‘तपाईं जवान हुँदा कुनै केटीसँग तपाईंको प्रेम थियो ?’ मैले जवाफ दिएँ, ‘थियो भने पनि म अहिले तपाईंलाई भन्दिनँ । त्यो पुरानो कुरा हो । त्यो केटी आज कसैकी हजुरआमा होलिन् । म कसैको हजुरआमासित मेरो प्रेम थियो भनेर खुलासा किन गर्नु ?’

उनले भारत  र चिन दुवै  असल छिमेकी भएको हिसाबले नेपालले दुवै देशसँग राम्रो सम्बन्ध राख्न चाहेको र दुवैबाट विकासको लाभ लिई शान्तिसँग बस्न चाहेको प्रष्ट्याएका छन् ।