काठमाण्डौ । भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्‍याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ। नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो। 

यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ । लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । 

पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो । भारतको रिसियाबाट पेस्तोल र गोली बोकेर आएका पठानले काठमाडौं सप्लाई गर्ने खुलासा गरेका छन् । स्रोतका अनुसार पठानको समूहमा अझै आधा दर्जन रहेका छन् । 

भारतबाट नेपालगन्ज र नेपालगन्जदेखि काठमाडौंसम्म साना हतियार पुर्‍याउनका लागि एउटा गिरोह नै सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठमाडौंमा कसले  यहाँबाट हतियार मगाउँछन् भन्ने बारेमा पनि सेधीखोजी थालिएको प्रहरीले बताएको छ । यस्ता साना हतियार डन हरुले बढी प्रयोग गर्ने गरेको सम्बद्धहरु बताउँछन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।