एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय बजारमा पेट्रोल र डिजेलको भाउ समेत बुधबार वृद्धि भएको छ । 
 

भारतको बजारमा बुधबारदेखि प्रति लिटर पेट्रोल ३.०७ भारु(४ रुपैयाँ ९१ पैसा) र डिजेल १.०९(१ रुपैयाँ ७४ पैसा) भारु महङ्गो भएको हो । 
 

त्यहाँ कायम भएको नयाँ मूल्य बुधबार रातिदेखि नै लागू हुने अधिकारीहरुले बताएका छन् । बढेको मूल्य समेत जोडेर भारतको राजधानी नयाँदिल्लीमा पेट्रोलको भाउ अब ५९.६८ भारु(नेरु ९५ रुपैयाँ ४८ पैसा) र डिजेलको भाउ ४८.३३ भारु(नेरु ७७ रुपैयाँ ३२ पैसा) कायम भएको छ । कोलकाता,  मुम्बई र चेन्नईमा पेटोलको नयाँ मूल्य क्रमशः भारु ६३.७६, ६५.७९ र ५९.१३ कायम भएको छ । यस्तै, यी तीनवटा शहरमा डिजेलको मूल्य क्रमशः ५०.७५, ५५.०६ र ४९.०९ भारु कायम भएको छ । 
 

भारतीय संचारमाध्यमहरुका अनुसार भारतमा सन् २०१६ भित्र इन्धनमा यो तेश्रो पटकको मूल्यवृद्धि हो । यसअघि भारतमा भएको मूल्यवृद्धिपछि पनि नेपाल आयल निगमले यहाँको मूल्यमा चाहि कुनै परिवर्तन गरेको थिएन । आयल निगमले उच्च नाफा राखेका कारण भारतीय बजारमा मूल्य बढ्दा समेत यहाँ पछिल्लो समय मूल्य समायोजन नगरेको हो । तर यसपटक भने भारतीय बजारमा बढेको मूल्यपछि नेपालमा समेत पेट्रोल र डिजेलको मूल्य बढ्ने अधिकारीहरुले बताएका छन् । 
 

कच्चा तेलको भाउ बढेसँगै भारतीय तेल कम्पनीहरुले इन्धनको भाउ बढाउने निर्णय लिएका हुन् । भारत आउने कच्चा तेलको मूल्य फेब्रुअरीको तुलनामा मार्चमा १० प्रतिशतले वृद्धि भइसकेको छ । फेब्रुअरीमा प्रति ब्यारेल ३०.५३ डलरमा कच्चा तेल किन्दै आएको भारतले मार्च लागेपछि प्रति ब्यारेल ३४ डलरमा कच्चा तेल खरीद गरिरहेकोले मूल्य समायोजन बाध्यकारी भएको हो ।