काठमाण्डौ । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । पेट्रोल प्रति लिटरमा १.२९ भारु र डिजेल प्रति लिटरमा ९७ पैसा वृद्धि भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

नेपालमा भारतबाटै पेट्रोलियम पदार्थ आयात हुने भएकोले त्यहाँको मूल्य उतारचढावले नेपालको बजार तथा पेट्रोलियम मूल्य समेत प्रभावित हुने गर्छ । 

भारतमा नयाँ मूल्य आइतबार रातिदेखि नै लागूू भएको छ । नेपालमा यसअघि आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । सो मूल्यवृद्धि फिर्ता लिन संसदीय समितिले आग्रह गरे पनि निगमले टेरेको छैन । अघिल्लो मूल्यवृद्धि फिर्ता लिन तीव्र दवाब परेको बेला त्यसलाई कायम राखेर यो पटक चाहि मूल्य बढ्न नसक्ने संभावना रहेको स्रोतहरु बताउँछन । 

तेल निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेकमा आबद्ध नभएका तेल उत्पादन गर्ने देशहरुले समेत कच्चा तेलको नियमित उत्पादनमा कटौतिको निर्णय गरेपछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भइरहेको छ । भारतका तेल कम्पनीहरुले कच्चा तेलको मूल्यको बढोत्तरीलाई नै यसपटकको मूल्यवृद्धिको कारण मानेका छन् । यसकारण इण्डियन आयल कर्पोेरेसनले नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्य सूचि पनि बढेर आउने देखिन्छ ।