नयाँ दिल्ली (भारत) । सन् २०५० सम्ममा भारतले ७० लाख रोजगारी गुमाउने एक अध्ययनको दाबी छ । विगत ४ वर्षको अवधिमा भारतमा हरेक दिन ५ सय ५० रोजगारी गुम्दै गएको र यो क्रमले यसरी नै निरन्तरता पाइरहेमा आउँदो ३४ वर्षभित्र त्यहाँबाट ७० लाख रोजगारी गुम्ने दिल्लीस्थित नागरिक समाज प्रहारले गरेको एक अध्ययनमा पाइएको छ ।

पछिल्लो समय भारतमा कृषक, साना खुद्रा पसले, करारका श्रमिक र निर्माण क्षेत्रका कामदारहरूले काम गुमाउँदै गएको पाइएको छ । सन् २०१५ मा भारतले १३ लाख ५० हजार मात्रै रोजगारी सृजना गरेको श्रम विभागको तथ्याङ्क उद्धृत गर्दै प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१३ र सन् २०११ को तुलनामा यो निकै थोरै हो ।

सो अवधिमा भारतीय अर्थतन्त्रले क्रमशः ४ लाख १९ हजार र ९ लाख रोजगारी सृजना गरेको तथ्याङ्क छ । रोजगारी तथ्याङ्कलाई विश्लेषण गर्दा सन् २०५० सम्ममा भारतबाट ७० लाख रोजगारी गुम्ने देखिएको र सोही अवधिमा जनसङ्ख्या भने ६० करोडले बढ्ने प्रहारद्वारा विज्ञप्तिमा भनिएको छ । यसले भारतमा रोजगारी सृजना निकै सुस्ताएको इङ्गित गरेको विज्ञप्तिमा समूहले उल्लेख गरेको छ । रासस/पीटीआई