काठमाण्डौ । धितोपत्र बजारको बिस्तार तथा विकासका लागि विभिन्न अभियान संचालन गरिरहेको नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुलाई भारतका बजार विज्ञहरुले सेयर बजारमा बोर्डको प्रभावकारी भूमिका निर्वाह लगायतको बिषयमा पढाएका छन् । 

धितोपत्र बोर्डको संस्थागत क्षमता अभिबृद्धिका क्रममा हालै सेवामा प्रवेश पाएको जनशक्तिलाई उदीयमान धितोपत्र बजारको संरचना, नियमन तथा सुपरिवेक्षण विधि, नियमन निकायको सांगठनिक संरचना लगायतका विषयमा भारतीय अधिकारीले पढाएका हुन् । 

आफ्ना नवप्रवेशी कर्मचारीलाई प्रशिक्षण गर्न बोर्डले भारतको धितोपत्र बजारको नियामक भारतीय प्रत्याभूति तथा विनिमय बोर्ड(सेवी)सँग प्राविधिक सहयोगका लागि अनुरोध गरेको थियो । सेबोनको अनुरोधलाई स्वीकार गर्दै सेवीका महाप्रबन्धक बि.एन. साहूको नेतृत्वमा आएको तीन सदस्यीय विज्ञ टोलीले धितोपत्र बजार नियमन तथा सुपरिवेक्षण सम्बन्धमा बोर्डका ३५ जना कर्मचारीलाई तीनदिने विशेष तालिम दिएको हो । 

सेवीको विज्ञ समूहले सेवीको सांगठनिक संरचनाको जानकारी दिदै सेवीले ऐनमार्फत धितोपत्र बजार नियमन गर्न आफैले आवश्यक नीति नियम बनाउन सक्ने विधायकी, संचालनमा पूर्ण स्वायत्तता सहितको कार्यकारी र नियम उल्लंघन गर्नेलाई कारवाही गर्न सक्ने न्यायिक अधिकार प्राप्त गरेको र सोही अनुसार बोर्डको संरचनामा विज्ञ सदस्यहरुको बाहुल्यता हुनुका साथै सेवीको अध्यक्षलाई मुख्य महाप्रवन्धकसम्मको पद सृजना गर्ने अधिकार समेत भई प्रभावकारी नियमन र सुपरिवेक्षण गर्न सक्षम रहेको जानकारी दिएको थियो । 

विज्ञ समूहले धितोपत्र बजारमार्फत सर्वसाधारणसँग रहेको पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गरी अर्थतन्त्र विकास तथा विस्तारका लागि नेपालको विद्यमान प्राथमिक बजारमा संरचनात्मक सुधार गर्नुपर्नेतर्फ जोड दिंदै भारतीय पँुजी बजार नियम परिपालना सम्बन्धी व्यवस्थाहरुको बिषयमा समेत जानकारी गराएका थियो । 

उनीहरुले भारतमा संचालक तथा कर्मचारीका लागि छुट्टै आचारसंंहिता रहेको बताउँदै स्टक एक्सचेञ्ज तथा नियमन निकायका कर्मचारीहरुले सेयरमा लगानी गर्न नपाउने व्यवस्था रहेको बताएका थिए । 

कार्यक्रम समापनको अवसरमा बोल्दै नेपाल धितोपत्र बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्कीले सेवोन र सेवी करिब संगसँगै स्थापित भए पनि विकासको क्रममा सेवी धेरै अगाडि बढिसकेकोले सेवोनले सेवीबाट धेरै सिक्नुपर्नेमा जोड दिए । 

सेवोनले संरचनात्मक तथा सांगठनिक रुपमा आफूलाई बलियो बनाउँदै लानुका साथै आफ्नो क्षमता अभिबृद्धि गर्दै धितोपत्र बजार नियमन तथा सुपरिवेक्षणमा पनि सवल भएको सावित गर्दै जानुपर्नेमा उनले जोड दिए । 

उनले यो तालिमबाट बोर्डका कर्मचारीलाई पँुजी बजार नियमन तथा सुपरिवेक्षण सम्बन्धमा गहन जानकारी प्राप्त भएको बताउँदै यसबाट बोर्डका कर्मचारीहरुको क्षमता अभिवृद्धि भई कार्य सम्पादनमा सुधार आउने दाबी गरे ।