काठमाण्डौ । भारतको विभिन्न बालगृहबाट ३३ नेपाली बालबालिकालाई केन्द्रीय बालकल्याण समिति र छोरा–छोरी नेपालले उद्धार गरेर काठमाडौं ल्याएको छ ।

भारतीय बालगृहहरूमा अलपत्र परेका बालबालिकाबारे जानकारी पाएपछि पटनास्थित बालकल्याण समितिलाई पत्रचार गरी स्वीकृति लिएर उनीहरूको उद्धार गरिएको हो । मुजफ्फरपुरको निर्देश बालगृहबाट १७, सेवा–संकल्प बालिकागृहबाट २, दरभंगा बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ । 

जसमा काठमाडौंकी १८ वर्षकी नेहा पार्वती र वीरगन्जकी १२ वर्षीया सोनाम कुमारी पनि रहेका छन् । उद्धार हुनेमा अधिकांश सिरहा र सर्लाहीका बालबालिका रहेका छन् । त्यस्तै, जनकपुर, सप्तरी, रौतहट, काठमाडौं, काभ्रे, बाँके, रुकुम, सिन्धुपाल्चोक, डोटी, महोत्तरी, दार्चुला, नवलपरासीलगायतका ठाउँका पनि रहेका छन् । ६ देखि २० वर्षसम्मका बालबालिकाको उद्धार गरिएको छ ।

भारतीय सरकारले अलपत्र परेका बालबालिकालाई समातेर बालगृहमा पुर्‍याउने गर्दछ । यी ३३ जना बालबालिका पनि होटेल, गुम्बा, मदरसालगायत ठाउँमा अत्याचार सहन नसकी बाहिरिँदा बालगृहमा पुर्‍याइएको हो । तर, उक्त बालगृह जेलजस्तो भएको उद्धारका लागि भारत पुगेकी केन्द्रीय बालकल्याण समितिकी कार्यक्रमक संयोजक नमुना भुसालले जानकारी दिइन् ।

सेवा–संकल्प बालिकागृहबाट उद्धार गरिएकी काठमाडौंकी नेहा पार्वतीले मानसिक सन्तुलन गुमाएकी छिन् । उनलाई भारतको एउटा घरमा काम गर्नका लागि लगिएको थियो । भुसालले भनिन्, ‘नेहा र सोनमलाई लामो समयदेखि एउटा घरमा काम गर्न राखिएको थियो । भुइँतलासम्म पनि आउन दिइएको थिएन ।’

बालबालिकालाई विभिन्न प्रलोभन देखाई भारत लैजाने गरेको देखिन्छ । कसैलाई पैसा कमाइन्छ भनेर प्रलोभन देखाएर, कतिपय बालबालिका आफैँ पनि भागेर जाने र कसैलाई बाबुआमाले पनि पठाउने गरेको केन्द्रीय बालकल्याण समतिका कार्यकारी निर्देशक तारत धितालले जानकारी दिए । कतिपयलाई पढ्न भन्दै गुम्बा र मदरसामा भगाएर लैजाने गरेको पनि उनले बताए । खुला सिमानाका कारण पनि यस्तो हुने गरेको धितालको भनाइ छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।