नयाँदिल्ली । मोदी सरकारले कालोधनमाथि अंकुश लगाउने उद्देश्यले ५ सय र १ हजार भारुको नोट बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयको असर भारतमा मात्र परेको छैन, भारतका छिमेकी मुलुकहरुमा समेत उत्तिकै देखिएको छ । कतिपय देशको विनिमय दरले त यही निर्णयका कारण अनपेक्षित रुपमा ठूलै पहिरोको सामना गरिरहेको छ । 

बंगलादेश
बंगलादेशी वेबसाइट ‘बीडीन्यूज २४ डटकम’का अनुसार भारतमा हजारौं बंगलादेशी प्राय उपचारका लागि आउने गर्छन् । मोदी सरकारको यो कदमबाट यसरी उपचारका लागि भारत आउनेहरु बढी प्रताडित हुनेछन् ।

वेबसाइटको रिपोर्टअनुसार बंगलादेशको जेसोरमा बसोबास गर्ने शेख मुदस्सर अली आफ्नो मृगौलाको उपचार कोलकातामा गराइरहेका छन् । अलीका भाईले वेबसाइटसँग भने–‘अस्पतालले १ सय रुपैयाँको मात्र नोट लिने कुरा गरेको छ । जब कि मेरो साथमा १ सय रुपैयाँको एउटा पनि नोट छैन ।’ 

यसैगरी, साइमा भारत–बंगलादेश सीमामा टाकालाई भारुमा साटेर किमोथेरापीका लागि कोलकाता आइरहेकी थिइन्, तर नोटकै कारण उनी उपचार नगराई स्वदेश फर्किइन् । कारण, अस्पतालले प्रतिबन्धित नोट बिरामीबाट लिन अस्वीकार गरिदियो । 

नेपाल
नेपालको अखबार काठमाण्डौ पोष्टका अनुसार केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले भारतले प्रतिबन्ध लगाएको नोटलाई नेपालमा समेत कारोबारमा बन्देज लगाइदिएको छ । 

यसको असर नेपालको कारोबारमा निकै ठूलो रुपमा हुनसक्छ, कारण त्यहाँ भारतीय मुद्रा अधिक प्रचलनमा रहेको छ । 

नेपाल राष्ट्रबैंकको विदेशी मुद्रा विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाका अनुसार नेपालमा लगभग १३ करोड पचास लाख भारतीय रुपैयाँ प्रचलनमा रहेको छ । 

म्यान्मार
म्यान्मारका व्यापारी मोदी सरकारको यो कदमबाट निराश छन् । कारण, यो कदमका कारण त्यहाँको मुद्रा विनिमय दर निकै तल पुगेको छ । 

वेबसाइट ‘द डमोक्रेटिक वायस अफ बर्मा’का अनुसार म्यान्मारको सीमामा रहेको कस्बे टापुका व्यापारीहरुले यो कदमबाट निकै ठूलो नोक्सानी सहनु परिरहेको छ । यहाँका एक व्यापारीका अनुसार यहाँका व्यक्ति त्यहाँबाट सामान उठाएर  सीमामा भारतीय व्यापारीहरुलाई निर्यात गर्छन् । यस्तो व्यापारको भुक्तानी सधैं नोटमै हुने गरेको छ । ती व्यापारीले भनेका छन्–‘अब हामीसँग रुपैयाँको भण्डार नै छ । तर अब हामीले हाम्रो देशमा रहेका ग्राहकलाई भुक्तानी दिन भारुलाई आफ्नो देशको मुद्रामा कन्भर्ट गर्नुपर्छ । यस्तो कदमका कारण मुद्रा विनिमय दर परिवर्तन भएको छ । अब हामीले यही कुराका कारण धेरै दिक्दारी भोगिरहनु परेको छ ।’ 

सिंगापुर
सिंगापुरको स्थानीय अखबार ‘द स्ट्रेट्स टाइम्स’का अनुसार त्यहाँका धेरै मानिस पुरानो भारतीय नोट बदल्ने निकै प्रयास गरिरहेका छन् । तर, न कुनै बैंक वा न कुनै मनी चेञ्जरले नोट सटहीका लागि स्वीकार गरिरहेका छन् । 

अखबारका अनुसार मोदी सरकारको यो कदमको असर भारतमा मात्र होइन, अन्य कयौ देशसम्म पर्नसक्छ । 

सिंगापुरको एक निर्माण कम्पनीसँग सम्बद्ध सुपरभाइजरले लगभग २० हजार भारतीय  रुपैयाँ बचाएका थिए, जुन पैसालाई आगामी वर्षको छुट्टीमा भारतमा खर्च गर्ने उनको योजना थियो । तर, अब उनको सामु जटिल समस्या आइपरेको छ, कारण उनीसँग भएको त्यो रकम न मनि चेञ्जर र न कुनै बैंकले स्वीकार गरिरहेको छ । 

सिंगापुरको लिटिल इण्डिया डिस्ट्रिक्टका मनि चेञ्जर अब्दुल मलिकले यो कुरालाई स्वीकार गर्दै भनेका छन् कि उनले पुराना भारतीय नोट लिने र दिने दुवै काम बन्द गरेका छन् । 

मलेशिया
‘फ्रि मलेशिया टुडे’ वेबसाइटका अनुसार मलेशियाबाट भारत आउने पर्यटकहरुलाई समेत मोदी सरकारको यो कदमका कारण हैरानी खेप्नु परिरहेको छ । किनभने मनि चेञ्जरहरुले नोट सटही गर्न बन्द गरिदिएका छन् । 

मलेशियन एसोसिएसन अफ मनि सर्भिसेज विजिनेशका अनुसार उनीहरुलाई यो विषयमा अहिलेसम्म भारतीय उच्चायोगबाट कुनै स्पष्ट निर्देशन प्राप्त भइसकेको छैन । 

बहराइन, कतार, तथा संयुक्त अरब इमिरेट्स समेत कयौं खाडी मुलुकमा कयौं भारतीय बस्ने गरेका छन्, यी ठाउँमा बस्नेमध्ये अधिकांश भारतीय केरलाबाट आएका हुन् । 

यी देशहरुमा समेत मोदी सरकारको घोषणाका कारण निकै ठूलो हैरानी व्यहोर्नु परिरहेको छ । किनभने भारत सरकारको स्पष्ट निर्देशन नआएका कारण भारतीय स्टेट बैंक तथा बैंक अफ बडौदाजस्ता भारतीय बैंकका शाखाहरुले पुरानो नोटलाई सटही गर्न बन्द गरिदिएका छन् । 

यूएई एक्सचेञ्जका प्रमुख अफसर प्रमोद मंगतले भने–‘हाम्रा सबै विनिमय केन्द्रहरुले मंगलबार रातदेखि नै सबै नगद लिने र दिने काम रोकिदिएका छन् । तर पनि मानिसहरु हाम्रा शाखाबाट केही भाइहाल्छ कि भन्ने आशा लिएर आउनेजाने क्रम चलि नै रहेको छ ।’

बीबीसी हिन्दीको सहयोगमा