नयाँदिल्ली । भारतले  मंगलबार मध्यरातिदेखि लागू हुने गरी एकहजार र ५ सयको नोटलाई  कारोबारमा ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ । 

जाली नोटको कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले १ हजार र ५ सयको नोट चलाउन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै मंगलबार सो घोषणा गरेका हुन् । 

नोभेम्बर ११ देखि प्रचलनमा आउने भारु २ हजारको नोट । 

.............................................................................................

उनका अनुसार सर्वसाधारणले नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा हजार र पाँचसयका नोट बैंक वा हुलाक कार्यालयमा गएर साटिसक्नुपर्ने छ । मोदीले सम्बोधनका क्रममा कालोधनसँग लड्नका लागि पनि यस्तो व्यवस्था गर्नुपरेको दाबी गरेका छन् । 

नोभेम्बर ११ देखि प्रचालन ल्याउन लागिएको भारु ५ सयको नोट । 

........................................................................................................

यसैगरी, प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनको क्रममा निकट भविष्यमै ५ सय रुपैयाँ र २ हजार रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याइने समेत घोषणा गरे । अब प्रचलनमा ल्याउन लागिएको ५ सय र २ हजार रुपैयाँको नोट वर्तमान मुद्रा भन्दा निकै फरक हुने भारतीय मिडियाहरुले बताएका  छन् । 

नयाँ नोटहरुलाई यस्तरी तयार  गरिएको छ कि जसलाई कपी(नक्कल) गर्न निकै मुश्किल हुनेछ । 

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा आगामी नोभेम्बर ९ का दिन पूरा देशका बैंक र एटीएम पूर्ण रुपमा बन्द गरिनेछ । यस बाहेक १० नोभेम्बरमा पनि देशका केही भागको एटीएम बन्द  हुनेछ । यसपछि नोभेम्बर ११ देखि नयाँ नोट प्रचलनमा ल्याइनेछ । 

सरकारी अधिकारीका अनुसार सुरुवातमा नयाँ  नोटको उपलब्धता निकै कम हुनेछ । यहीकारण सुरुवातको दिनहरुमा एकदिन एक प्रयोगकर्ताले एटीएमबाट मात्र  २ हजार रुपैयाँ र एकहप्तामा १० हजार रुपैयाँ मात्र निकाल्न सकिने बताइएको छ ।