भाष्करराज राजकर्णिकार(अध्यक्ष)–एभिन्यूज टेलिभिजन


शनिवारको दिन केही अतिथिहरुलाई कुरेर म बुढानिलकण्ठको डाँडामा अवस्थित मेरो नयाँ घरमा बसेको थिएँ । हामी त्यहाँ भर्खर–भर्खर बस्न गएका थियौं, सपरिवार । एकाएक पहाड पर्वत सबै हल्लाउने गरी भूकम्प आयो । निकै ठूलो त्रास भयो, किचनमा रहेको बेला भूकम्प आउन थालेपछि टेबल समाएर बस्नुको अर्को विकल्प थिएन हामीसँग, त्यही गर्यौं । हामी तल्लो तलामा थियौं, माथिल्लो तलामा रहेकी छोरीलाई चिच्याएर बोलाएँ, तर उनले सुन्नसक्ने अवस्था थिएन । छोरीलाई पो केही भयो कि भन्ने डर मनमा पसेको थियो । मान्छेहरु होहल्ला गर्दै, चिच्याउँदै र कराउँदै घरबाट बाहिर निस्किएर खुल्ला क्षेत्रमा जम्मा हुँदै थिए । 

एकहोरो हल्लाइरहँदा ‘अब संसार नै सिद्धिन्छ’ कि जस्तो लाग्यो । महाप्रलय भएर संसार ध्वस्त हुने किम्बदन्तीहरु सुन्ने गरिन्थ्यो, त्यो समय यही होलाजस्तो लाग्यो, अब संसारको अन्तिम क्षण यही नै हो जस्तो पनि लाग्यो । पहाडमा गएकोले सिंगो पहाड नै खसेर पुर्ला कि भन्ने डर पनि थियो । हतार–हतार छोरीलाई समेत बोलाएर हामी सँगै सबै घरबाट सुरक्षित बाहिर निस्की त्यहाँ रहेको एउटा चौतारोमा भेला भयौं, जहाँ अन्य छिमेकी भेला भइरहेका थिए । 

भूकम्पको पराकम्पनहरु गइरहेकै थिए । मलाई अझै सम्झना छ, अत्तालिएको र त्रासमा परेको बेलामा एउटा फोन आयो, त्यो फोन एपस्टार स्याटेलाइटकी एक लेडीले गरेकी थिइन, उनले स्याटेलाइटको नेपालतर्फको बिजिनेश हेर्थिँन । उनले फोन गरेर ‘तिमी सुरक्षित’ छौ ? भनेर सोधिन । ‘अफिसतिर के छ’ भनिन्, मैले ‘बुझ्न पाएको छैन’ भनेँ । उनले मलाई कुनै इमेरजेन्सी खालको ब्रोडकास्टिङ गर्नुपरे, अन्य केही गर्नुपरे आफू तयार रहेको भनेर ढाँडस दिइन । देशकै सर्वश्रेष्ठ न्यूज च्यानल संचालन गर्ने मलाई यो ढाडसले निकै सहानुभूति दियो । भूकम्पले टेलिभिजनको प्रसारण पनि चौपट भयो होला भन्ने लागिरहेको बेला, विदेशी मित्रहरुको यो ढाडसले मनमा केही भए पनि शान्ति मिलेको क्षण कहिल्यै बिर्सन्नँ । 
बुढानिलकण्ठको डाँडाबाट काठमाण्डौतर्फ हेर्दा साच्चिकै त्रासदीपूर्ण अवस्था थियो । काठमाण्डौमा धूलो बाहेक केही देखिँन । काठमाण्डौ धूलोले पुरिएको रहेछ, तर मलाई काठमाण्डौ सखाप नै भएछ भन्ने लाग्यो । दायाँबायाँका पहाड पनि धूलो उडेर कुहिरीमण्डल थिए । पहाड खसिरहेको डरलाग्दो दृश्य समेत देखियो । आफू बसेको पहाड पनि खसिरहेको हो कि जस्तो लाग्थ्यो । 

काठमाण्डौ सबै सखाप नै भयो भन्ने लागेपछि मनमा चीसो पस्यो, हतार–हतार अफिसमा फोन गरेँ । धन्न मैले सोचेजस्तो अनर्थ भएको रहेनछ ! अफिसमा साथीहरुले काठमाण्डौ आज नआउनुहोस्, बाटो खत्तम छ, यहाँको अवस्था हामी सम्हाल्छौ भन्नुभयो, मन केही शान्त भयो र त्यो दिन बुढालिनकण्ठकै चौतारा र खुल्ला क्षेत्रमा रात बिताउने निधो भयो । 

सुरज वैद्य जी र मेरो घर सँगसँगै हो । हामी त्यसपछि बेलुकाको बसाईका लागि टेन्टको जोहो गर्नेतर्फ लाग्यौं । धेरै ठाउँमा खोज्दा पनि भनेजस्तो टेन्ट पाइएन । जेनतेन टेन्टको व्यवस्था गरेर हामीले बस्ने चाँजोपाजो मिलायौं, त्यहाँ हामी ५० जनाको संख्यामा थियौं, समस्यामा परेकाहरुलाई तत्काल के–के गर्न सकिन्छ भनी सल्लाह गरी राहात र सरसहयोगको कामतर्फ लाग्यौं । पहिला आएको भन्दा पनि पराकम्पनले मान्छे झनै डराउँदो रहेछ । ५० जना मान्छे एकैसाथ थियौं, तर पनि त्यस्तो बेलामा मान्छेले आफूलाई एक्लो महसुस गर्दो रहेछ । भूकम्पपछि मान्छे मेन्टल्ली फ्रस्टे«ट हुन्छ भन्थे, वास्तवमा त्यो हुँदो रहेछ । मानसिक रुपमा दह्रो हुने हामीलाई त त्यस्तो भयो भने बालबच्चा र महिलालाई के भयो होला ? 

बिपतको टिभी, चुनौतिपूर्ण


त्यो कहालीलाग्दो विपत सम्झँदा त्यस्तो बेलामा समेत हामीले आफूलाई कसरी ठीक राख्यौं होला भन्ने लाग्छ । हाम्रो एन्टिना हल्लियो, डिस्लोकेट भयो । अरु क्षति त्यति धेरै भएन । अर्थस्टेसनमा सामान्य क्षति भयो । हाम्रा इञ्जिनियर साथीहरुले ४ घण्टामा डोरी, प्लाष्टिकले बाँधेर भए पनि ठीक पार्नुभयो । सिस्टममा ल्याउनुभयो । त्यसपछि ट्रान्समिसन रिस्टार्ट भयो । कर्मचारी डराइरहेका थिए, आउन मानेका थिएनन् । त्यसपछि भोलिपल्ट म परिवारसहित अफिसमा सिफ्ट भएँ । म आफैँ गएपछि त अन्य साथीहरु पनि आउनुहुन्छ भन्ने थियो, आउनुभयो, हामीले अरु भन्दा धेरै समाचार सामाग्रीहरु पस्किन सक्यौं, त्यसबेलाको एभिन्यूज टेलिभिजनको ब्रोडकास्टिङ हेर्नुभयो भने हामीले साच्चिकै धेरै सूचनाहरु प्रवाह गरेको पाउनुहुनेछ । हामीले टेलिभिजन परिसरमै कर्मचारी तथा तिनका परिवारका लागि समेत बिहान–बेलुकाको खानाको व्यवस्था गर्यौं, कतिपयलाई बस्ने व्यवस्था पनि गर्यौं । सबै एकठाउँमा जम्मा भएर काम गर्दा काम पनि राम्रो हुन थाल्यो । उद्धारका लागि जाने, सूचना संकलनमा लाग्ने कामहरु भए । त्यस्तो संकट र त्रासपूर्ण अवस्थामा पनि साथीहरु बारपाक र दोलखा पुग्नुभयो,     त्यहाँको कहालीलाग्दो दृश्य, भूकम्पपीडितको पीडा देखाउन हामी सफल भयौं । पीडितका लागि देशविदेशबाट राहात सामाग्री तथा रकम आउन थाले, त्यसमा समेत हामीले समन्वय गर्यौं । 

विज्ञले भनेको पुग्यो
अमेरिकी भूगर्भ विभाग र त्यहाँका विज्ञहरुले केही वर्षअघिदेखि नै नेपाल लगायतको क्षेत्रमा ठूलो भूकम्प आउनसक्ने भविष्यवाणी गरिरहेका थिए । एउटा रमाइलो संयोग भयो त्यो बेला, २ वर्षअघि यूएसजिएसका एक नेपाली भूगर्भ विज्ञको हामीले अन्तर्वार्ता लिएका थियौं । सो क्रममा उहाँले बुढानिलकण्ठमै बसेर हामीसँग जे जे भन्नुभएको थियो, २ वर्षपछि त्यही कुरा भइरहेको थियो ।  उहाँले भन्नुभएका अन्य कुराहरु सम्झिएर मनमा झनै त्रास बढेको थियो । रमाइलो संयोग, उहाँ नेपालमै हुनुहुँदो रहेछ, भूकम्प गएको पर्सिपल्ट अर्थात १४ बैशाखमा उहाँ हाम्रो त्रिपुरेश्वरस्थित स्टूडियोमा आइपुग्नुभयो । उहाँले यो भन्दा भयावह हुनुपर्ने हो, धन्न निकै कम आएछ भनेपछि झनै डर लाग्यो । अब सकियो, खत्तमै भयो भन्ने पनि भयो । राति निद्रा नै नपर्ने अवस्था समेत सिर्जना भयो । 

सबैले सिक्नुपर्ने पाठ


प्रकृतिसँग कसैले पनि जुध्न नसक्ने रहेछ भन्ने कुरा १२ बैशाखको भूकम्पले सबैलाई सिकाइदिएको छ । तपाई जतिसुकै कुराहरु आविष्कार गर्नुहुन्छ, अन्वेषण गर्नुहुन्छ, प्रकृतिलाई जित्न सक्नुहुन्न । हामीले सिर्जना गरेका सबै कुरा क्षणिक हुन्, भविष्य भनेको आज मात्र हो, आज जे हो त्यो नै भविष्य हो भन्ने कुरा म आफूले पनि महसुस गरेको छु । 

भूकम्पले अर्को एउटा राम्रो पाठ समेत सिकाइदियो । समस्या र विपतमा परेको बेला नेपाली समाजको वर्गीय विभाजन अटोमेटिक हट्दो रहेछ । पहिला मान्छेले आफू र आफ्नो परिवारको सुरक्षा सोच्ने हो, त्यसपछि के त ? तपाईलाई साथीभाई चाहिन्छ, छिमेकी चाहिन्छ । यस्तो कुरा बिपतको बेला बढी महसुस हुँदो रहेछ । समाजमा रहेका हुँदा खाने, हुने खाने लगायतका विभिन्न वर्गबीचको विभाजन तथा विभेद यस्तो बेला एउटै छातामुनि बस्दा हराउने रहेछ । 

हामीलाई अन्य धेरै बिषयमा भूकम्पले पाठ सिकाएको छ । हाम्रो शौभाग्यको कुरा धन्न एक मात्र अन्तर्राष्ट्रिय  विमानस्थल ठीक थियो । त्यो ठीक नहुँदो हो त निकै ठूलो समस्या हामीले सामना गर्नुपर्ने थियो । यो बिषयमा राज्य संचालकले गम्भीरता प्रकट गर्न आवश्यक छ ।

राष्ट्रिय अर्थतन्त्रको सवालमा समेत भूकम्पले हामीलाई केही पाठहरु सिकाएको छ । हामी खुल्ला बजार र सीमारहित अर्थतन्त्रको प्राक्टिसमा छौं, हामी जहिले पनि आत्मनिर्भर अर्थतन्त्रको मीठा कुरा गर्छौ । आत्मनिर्भर अर्थतन्त्र भनेको के हो भन्ने मिहीन ढंगको बुझाई हामीमा छैन । आत्मनिर्भर अर्थतन्त्र धेरै ठूलो कुरा नै होइन रहेछ । बिहान–बेलुकाको तरकारी, चामल आफूसँग हुन सक्नुपर्यो, कमसेकम पाउरोटी र चाउचाउ बनाउने त आफूसँग क्षमता हुनुपर्यो नि, हो यही नै रहेछ आत्मनिर्भर अर्थतन्त्र, यो कुरा सिकायो महाभूकम्पले । तपाईसँग भएका कुराहरुको उपयोग नै सबैभन्दा ठूलो अर्थतन्त्र रहेछ । 

भूकम्प लगत्तै खाद्यान्न र सागसब्जीको पनि हाहाकार मच्चिएको थियो । तर हामीले बुढानिलकण्ठको डाँडामा तरकारी रोपेका थियौं, त्यसले निकै दिन सास धान्न सक्ने रहेछ नि त । हो यो पनि रहेछ आत्मनिर्भर अर्थतन्त्र । पैसा भएर मात्र के गर्ने ? भनेको बेला चाहेको कुरा किन्न नपाएपछि त्यसको के अर्थ ? के हामी टेन्ट बनाउन सक्दैनौ ? सक्छौ नि । हामीले बाँस र बियालोको घर बनाउन सक्दैनौ त ? सक्छौ नि । तर हामी यति धेरै परनिर्भर भइसकेका छौ कि, हामीलाई फेरि आल्मुनियम नै चाहियो, शानदार महल नै चाहियो । बिलासी जीवन नै चाहियो । आफ्नो दैनिक जीवनसँग गाँसिएका स–साना कुराप्रतिको परनिर्भरता घटाउँदै लैजाने हो । यस्तै–यस्तै सुधारले नै लार्जेस्ट स्केलमा आत्मनिर्भर अर्थतन्त्र बन्दो रहेछ भन्ने कुरा मैले अनुभूत गरेको छु । तर बिडम्बना नै भन्नुपर्छ महाभूकम्पले हाम्रो भूमि र मनलाई हल्लाएको एकबर्ष बितिसक्दा समेत यस्ता कुरामा हामीले अझै पनि ठोस पहल गरेका छैनौ । 

टेलिभिजनका लागि पाठ
यस्तो बिपतको बेला टेलिभिजन मिडियाहरुले पनि धेरै पाठ सिकेका छन्, सिक्नुपर्छ । टेलिभिजन मिडियाहरुले कमसेकम सानो स्टूडियोसहितको अतिरिक्त एउटा वैकल्पिक स्टेशन बनाउनुपर्ने रहेछ । एकठाउँमा मात्र हुँदा यस्तो बेलामा सबै सिस्टम नै कोल्याप्स हुनसक्ने रहेछ । अर्को वैकल्पिक स्टेशन चाहिने रहेछ, जहाँ एउटा एंकर बसेर बोलिरहने अवस्था मात्र भए पनि पुग्ने रहेछ । अहिले हामीले सानो तयारी पनि गरिसकेका छौं । हामीले यो कुरामा ध्यान दिएर केही न केही वैकल्पिक व्यवस्था तथा जोहो गरेका छौं । अब भूकम्प आइहाले कम्तीमा टेन्ट खोज्न जानुपर्दैन, फस्ट एड खोज्न जानुपर्दैन, प्रसारण नै अवरुद्ध हुने अवस्था नआउला । 

अर्कोतर्फ टेलिभिजनजस्तो मिडियाले कर्मचारीलाई एउटै ठाउँमा राख्ने व्यवस्था गर्नुपर्ने रहेछ । हामी युनियनिजमको कुरा गर्छौ, तर यहाँ वेलफेयर पोलिसीको चाहि खाँचो रहेछ । जस्तो भूकम्पपछि केही दिनसम्म हामीले अफिस परिसरमै मेस खोल्यौं । यसको अर्थ कर्मचारीको हितका लागि वेलफेयर चाहिने रहेछ, युनियनिजम होइन, मैले सिकेको अर्को महत्वपूर्ण पाठ हो यो ।