काठमाण्डौ । घट्दो बजारमा मंगलबार क्रमभंग भएको छ । दिनहुँजसो उच्च अंकको साथ घटिरहेको बजारमा मंगलबार भने १० अंकको हाराहारीमा बढोत्तरी भएको हो । 

नेप्से परिसूचक १५५४.५१ अंकको उचाईमा पुुगेको छ भने परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार हुनुुलाई विश्लेषकहरुले आगामी दिनमा बजार उकालोतर्फ लाग्ने संकेत भनी विश्लेषण गर्ने गर्छन् । बजारमा सूचक बढ्दा कारोबार रकम पनि बढ्यो भने आगामी दिनमा बजार अझ बढ्ने संकेतको रुपमा बुझिन्छ भने सूचक मात्र बढेर कारोबारमा खासै प्रगति भएन भने त्यस्तो बढोत्तरीले लगानीकर्तालाई भ्रमित तुुल्याइदिन सक्छ । 

मंगलबार जलविद्युत बाहेक बाँकी सबै समूहको परिसूचक हराभरा भएका छन् । सबैभन्दा बढी(प्रतिशतको हिसाबले) होटल समूह ५२.५२ अंकले बढेको छ भने बिमा समूहमा १७७.९८ अंकको बढोत्तरी देखिएको छ । विकास बैंक समूहमा २.२९ अंकको झिनो बढोत्तरी भएको छ भने बित्त समूह ५.४२, उत्पादनमूलक २.३३ र अन्य समूह ०.५७ अंकले बढेका छन् । वाणिज्य बैंक समूहमा भने ६.०१ अंकको वृद्धि भयो । जलविद्युत समूहमा भने ६.०५ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १३६ कम्पनीका ९ लाख ४० हजार ४ सय २१ कित्ता सेयर ७७ करोड १८ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी वाणिज्य बैंकहरुले ३७ करोड ४२ लाखको कारोबार गरे भने बिमा समूहले २१ करोड ७७ लाख तथा विकास बैंकहरुले ६ करोड ८६ लाख बराबरको कारोबार गरे । 

कम्पनीगत हिसाबले सिद्धार्थ बैंकले सबैभन्दा बढी ८ करोड७४ लाखको कारोबार गर्यो । शिखर इन्स्योरेन्सले ५ करोड ९३ लाखको कारोबार गर्दा फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको ५ करोड ४४ लाखको प्रोमोटर सेयर पनि किनबेच भयो । यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ करोड ३३ लाख बराबरको कारोबार गर्यो भने एभरेष्ट बैंकले ४ करोड ५४ लाखको कारोबार गर्यो । धेरै कारोबार गर्ने १० कम्पनीको सूूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी र एक स्थान माइक्रोफाइनान्स कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार अरुण फाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

मंगलबार सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडका सेयरधनीले गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, यूनाइटेड फाइनान्सको सेयरमूल्य साढे ८ प्रतिशत तथा मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो ।