पोखरा । मजदुर आन्दोलनले फूलबारी रिसोर्ट ठप्प भएको छ ।

नियमित पारिश्रमिक नपाएर मजदुर आन्दोलनमा उत्रिएपछि फूलबारी रिसोर्ट ३ दिनदेखि बन्द भएको हो । बुकिङ गरेका पर्यटक रिसोर्ट बन्द हुँदा अन्यत्र जान बाध्य भएको व्यवस्थापनले जनाएको छ ।

नियमित पारिश्रमिकसमेत नपाएको भन्दै त्यहाँ कार्यरत नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सम्बद्ध मजदुर आन्दोलनमा उत्रिएका हुन् ।

आफूहरूका माग सम्बोधन गर्न होटल प्रशासनले चासो नदेखाएपछि आन्दोलन गर्नुको विकल्प नभएको कांग्रेस निकट पर्यटन क्यासिनो तथा होटल सैनिक संघ फूलबारी इकाइ अध्यक्ष दीलबहादुर छुमीले बताए ।

उनका अनुसार होटलमा कार्यरत सम्पूर्ण मजदुरले आन्दोलनलाई साथ दिएका छन् । ‘हामीले लामो समयसम्म साथ दियौं, आजभोलि भन्दै टार्ने काम भएपछि बाध्यभएर आन्दोलनमा उत्रिएका हौं,’ उनले भने, ‘सेवा दिने रहर भएर पनि आफैलाई चल्न अप्ठेरो भएकाले आन्दोलन गर्नुको विकल्प रहेन ।’

नेकपा एमाले निकट स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका सचिव महेन्द्र बस्नेतले कांग्रेस र माओवादी निकट मजदुरले आन्दोलनको नेतृत्व गरे पनि आफूहरुसँगै रहेको जानकारी दिए । उनका अनुसार होटलले कर्मचारीको २ महिनादेखिको पारिश्रमिक दिएको छैन । त्यस्तै, विगत २ वर्षअघिदेखि नै होटलले मजदुरले पाउने सञ्चयकोषमा जम्मा गरिदिनुपर्ने रकम जम्मा गरेको छैन ।

ग्राहकबाट प्राप्त हुने सेवा शुल्क समेत आफूहरुले नपाएको उनले जानकारी दिए । होटल कर्मचारी तथा मजदुर होटलमा गए पनि बाहिर निस्केर बस्ने गरेका छन् । बस्नेतले विगत ८ दिनदेखि आफूहरुले विभिन्न तरिकाले विरोध गरेको भएपनि सुनुवाई नभएकाले सम्पूर्ण काम ठप्प पार्नु परेको बताए ।

मजदुर, कर्मचारीको आन्दोलनले होटललाई करोडौं घाटा भएकोे होटल व्यवस्थापनले जनाएको छ । ‘होटल कति दिन बन्द भन्दा पनि यसको म्यासेज कस्तो गयो भन्ने कुरा ठूलो हो । हाम्रा धेरै बुकिङ रद्द भइसकेका छन्’, होटल व्यवस्थापनले भनेको छ । होटल घाटामा गएपछि समस्या आएको हो ।

राजधानीमा होटल सोल्टीमा ३० वर्ष काम गरेर व्यवस्थापन सम्हाल्न आइपुगेका फूलबारीका रेसिडेन्ट म्यानेजर रामकृष्ण क्षेत्रीले होटलको कमजोरी रहे पनि मजदुर–कर्मचारीको साथ नपाएको गुनासो गरे । ‘विगतदेखि नै हाम्रो होटलमा विभिन्न समस्य रहे, यहाँहरूलाई थाहा नै छ,’ क्षेत्रीले भने, ‘सिजन आउँदै गरेका बेला र बुकिङ समेत बढ्दै गरेका बेला मजदुर आन्दोलनले झनै समस्या थपेको छ ।’

होटल व्यवस्थापन ऋण लिएरै भए पनि विस्तारै सबै मजदुरको पारिश्रमिक चुक्ता गर्दै जाने पक्षमा रहेका बेला आन्दोलन भएको क्षेत्री बताउँछन् । ‘सिजनमा राम्रै हुने अपेक्षा थियो, विस्तारै–विस्तारै सबै ठीक हुन्छ, साथ दिनुहोस्, भनेकै हो, उहाँहरु आन्दोलनमा उत्रनु भो,’ क्षेत्रीले भने ।

मजदुरहरूले होटल व्यवस्थापन वार्तामा बस्न समेत आनाकानी गरिरहेको बताउँदै गर्दा क्षेत्रीले त्यसलाई भने अस्वीकार गरे । ‘हामीले समस्या समाधान गर्न पहल नगरेको होइन’, उनले भने, ‘उहाँहरू नै सेवा छाडेर बाहिर निस्केपछि समस्या आयो ।’ उनका अनुसार आइतबार होटलका महाप्रवन्धक समीर कपिल पोखरा आएपछि निकास निस्कने छ ।

जम्मा १ सय ६५ कोठा भएको ५ तारे फूलबारी रिसोर्टमा १ सय ४० बढी मजदुर कार्यरत छन् । होटल व्यवस्थापन–मजदुरको द्वन्द्वले उक्त होटलमा बेला–बेला समस्या उत्पन्न हुँदै आएको छ । होटल फूलबारीमा उत्पन्न तनावले समग्र पोखराबारे गलत सन्देश जाने गरेको पर्यटन सम्बद्ध व्यवसायी बताउँछन् ।

स्रोत : समाधान न्यूज