काठमाण्डौ । धितो बिना नै कर्जा प्रवाह गरी मञ्जुश्री फाइनान्समा करिब १२ करोड रुपैयाँ घोटाला भएको छ । फाइनान्सका पूर्व सिईओ नवराज थापाको मिलेमतोमा ठुलो रकम कर्जाका नाममा हिनामिना भएको हो ।

प्रहरीले फाइनान्सका एक ऋणिलाई पक्राउ गरेको छन् भने पूर्व सिईओ थापा फरार भएका छन् । उक्त फाइनान्सबाट अनियमित तरिकाले कर्जा लिने रामशरण भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । एक महिनाअघि पक्राउ परेका भण्डारीले अनियमित तरिकाले कर्जा लिएको स्वीकारेका छन् । उनले २ पटक गरी २ करोड ४५ लाख रुपैयाँ लिएका थिए । पछिल्लो समय प्रहरीले अनुसन्धान सुरु गरेपछि एक करोड १४ लाख भने उनले तिरेका छन् ।

भण्डारीसहित अन्य सात जनालाई धितो नै नराखी तत्कालिन सिईओ थापाले कर्जा दिएको खुलेको छ । पछि राष्ट्र बैंकले छानबिन गर्दा धितो बिना ने कर्जा प्रवाह भएको खुलेपछि उनीहरुले थोरै थोरै धितो राखेका थिए । तर कर्जा असुल हुन नसक्दा फाइनान्सलाई ठुलो घाटा भएको थियो । राष्ट्र बैंकले छानबिन अघि बढाएपछि सिईओ थापाले गत वर्ष फाइनान्सबाट राजिनामा दिएका थिए । आफु कारबाहीमा पर्ने थाहा पाएर नै उनले छाडेका थिए । बिदेश पढ्न जाने भन्दै उनले जागिर छाडेको फाइनान्सका एक कर्मचारीले बताए ।

सिईओ थापाले कमिसन लिदै निकट व्यक्तिहरुलाई अनियमित तरिकाले कर्जा प्रवाह गरेका हुन् । पक्राउ परेका भण्डारीले कर्जा दिएपछि सापटका नाममा उनले पैसा लिएको गरेको बयान दिएका छन् । भण्डारीसहित नौ जना ऋणिलाई करिब एक करोडका दरले उनले १२ करोड कर्जा दिएका थिए । तर त्यसका लागि सुरुमा धितो लिएका थिएनन् । पछि राखिएको धितो पनि कमसल थियो, जसकारण कर्जा उठ्न सकेन । अधिकांश ऋणिहरु फाइनान्सको सम्पर्कबाट बाहिर छन् ।

राष्ट्र बैंककले फाइनान्समा भएको अनियमितताबारे ३ वर्षअघि नै जानकारी पाएको थियो । तर धितो राखेर कर्जा असुल्नतर्फ लगाएको थियो । पक्राउ गरेर कारबाही गर्नुभन्दा नरम भएर गल्ती सुधार गर्ने मौका दिदा फाइनान्समा समस्या भएको हो । पछिल्लो समय फाइनान्समा धेरै समस्या दिएपछि राष्ट्र बैंकले नै सिईओ थापा तथा ऋणिहरुलाई पक्राउ गरी कारबाही गर्न सिआईबीलाई सिफारीस गरेको थियो । नयाँबानेश्वरमा प्रधान कार्यालय रहेको मञ्जुश्री फाइनान्सले दुई वर्षअघि लुम्बिनी बैंकसँग मर्जरमा जाने सहमति भएको थियो । तर हालसम्म पनि मर्जर हुन सकेको छैन ।

-दृष्टिबाट