काठमाण्डौ । मधेशमा भड्किएको हिंसाले राजनीतिक अन्यौल बढ्ने र स्थानीय निर्वाचन तोकिएको समयमा नहुने आशंका व्याप्त हुँदा बजार प्रभावित भएको छ । मधेशमा बलेको आगोको लप्काले लगानीकर्ताको मनोबल गिराइदिंदा बढिरहेको बजारमा ब्रेक लागेको हो । 

मंगलबार बजार १६.८५ अंकले घटेर १३४१.५६ मा झरेको छ । अघिल्ला २ दिनसम्म बढेको बजार मंगलबार भने राताम्मे भयो । बजारमा प्रष्ट रुपमा सोमबारको सप्तरी घटना र त्यसपछि सिर्जित राजनीतिक अन्यौल र नेपाली राजनीतिमा मडारिएको अनिश्चितताको बादलको नकारात्मक प्रभाव देखियो । 

मंगलबार होटल समूह र वाणिज्य बैंक समूह अरुभन्दा बढी अंकले घटे । होटल समूहमा ४२.४४ अंक(२.३३ प्रतिशत) र वाणिज्य बैंक समूहमा १९.८(१.५३ प्रतिशत) अंकको गिरावट देखियो । 

विकास बैंक, जलविद्युत, बित्त, बिमा, उत्पादन मूलक र अन्य समूह क्रमशः १४.८२, ७.३, ०.६३, ७४.५७, ७.४५ र २.८९ अंकले घटे । 

‘क’ वर्गको सेयर कारोबारमा एकाएक मन्दी देखिएपछि सेन्सेटिभ इण्डेक्स ३.९७ अंकले घट्यो भने फ्लोट इण्डेक्समा १.४३ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि डरलाग्दो पहिरो गएको छ । मंगलबार १ सय ४० कम्पनीका कुल ७ लाख ९४ हजार ५ सय ७९ कित्ता सेयर ४१ करोड ९६ लाखमा किनबेच भए । 

सबैभन्दा बढी सिटिजन्स बैंक इन्टरनेशनल बैंकले ३ करोड ६५ लाख बढीको कारोबार गर्यो । यस्तै, एनसीसी बैंकले ३ करोड ३४ लाख, नेपाल लाइफले २ करोड ८६ लाख, एनबी बैंकले २ करोड ११ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड २६ लाख बढीको कारोबार गर्यो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बिमा कम्पनीले, ४ स्थान वाणिज्य बैंक र एकस्थानमा लघुवित्त बैंकको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
घट्दो बजारमा मंगलबार २ कम्पनीले पैसा छापे । नयाँ नेपाल लघुवित्त विकास बैंक र आरएसडिसी लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यूनाइटेड फाइनान्स लिमीटेडको सेयर मूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

मंगलबार हिमालयन डिस्टीलरी लिमीटेडको सेयर मूल्य सबैभन्दा धेरै घट्यो । यो कम्पनीको सेयर मूल्यमा ५.५१ प्रतिशतको गिरावट आयो । यस्तै, रिलायन्स माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ५.१० प्रतिशतले घट्यो ।