काठमाण्डौ । सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको संविधान संशोधनको नयाँ प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ । साथै मोर्चाले स्थानीय तहको चुनाव बहिष्कार गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारसँग यसअघि भएका समझदारी र सहमतिविपरीत संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै मोर्चाले अस्वीकार गरेको हो । संशोधन प्रस्तावले सीमांकानलगायत मुद्दा सम्बोधन नगरेको आरोप मोर्चाको छ ।

तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा बुधबार बसेको मोर्चा बैठकले संशोधन प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । चैत ३१ गते मधेसका सबै जिल्ला सदरमुकाममा जुलुस निकाल्ने, वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम मोर्चाले सार्वजनिक गरेको छ । आन्दोलनका अन्य कार्यक्रम पछि सार्वजनिक गर्ने उसको तयारी रहेको छ । यो खबर आजको नागरिकमा छापिएको छ ।