काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

चिकित्सकका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारका तुलनामा आज निकै सुधार हुँदै गएकाले बेलुकीसम्म भेन्टिलेटर झिकिने छ । अहिले उनको रक्तचाप १२०/८०, मुटुको धड्कन ९०/८० र युरिन पास ६० एमएल प्रतिघन्टा भएको अस्पतालका एमडी हरिकिशोर श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा आइसकेका र उनले कुराकानी पनि गरेका अस्पतालले जनाएको छ । एमडी श्रेष्ठले भने–‘अहिले उहाँ पूर्ण रुपमा होसमा आइसक्नुभएको छ । हामीले औषधिको मात्रा पनि घटाएका छौँ । उहाँको स्वास्थ्य अवस्था हिजोको भन्दा बिहान र बिहानको भन्दा अहिले धेरै राम्रो भएको छ ।’