काठमाण्डौ । कसैलाई सिध्याउनुु पर्दा दलका नेताहरुले कतिसम्म तिकड्म गर्दा रहेछन् भन्ने कुरा सत्ताको नेतृत्व गर्ने माओवादीका एक मन्त्रीले खुलासा गरिदिएका छन् । लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउने बिषयमा संसदमा दर्ता गराइएको भनिएको उजुरीमा उल्लेख सांसदहरुको हस्ताक्षर सो प्रयोजनका लागि नभई अर्कै प्रयोजनका लागि लिएर झुक्याएर त्यसमा राखिएको सनसनीपूर्ण खुलासा गरेका हुुन् । 

उर्जामन्त्री तथा माओवादी नेता जनार्दन शर्मा प्रभाकरले अनलाइनखबर नामको न्यूज पोर्टलसँगको एक कुराकानीमा यस्तो खुलासा गरिदिएका हुन् । 

लोकमानसिंह कार्कीविरुद्ध दलका नेताहरुले पूर्वाग्रही ढंगले महाअभियोगको प्रस्ताव दर्ता गराएका र यसमा ठूलै षड्यन्त्र भएको आरोप लागिरहेको बेला शर्माले यथार्थलाई अगाडि सारिदिएपछि दलहरुले कसैलाई रीस साँँध्नु पर्दा कतिसम्म गर्छन् भन्ने देखिएको छ । 

सो न्यूूज पोर्टलसँगको कुराकानीमा उनले भनेका छन्–‘जहाँसम्म महाअभियोगमा हस्ताक्षर संकलनको कुरा छ, हस्ताक्षर अर्को ढंगले हुँदैन हस्ताक्षरकै ढंगले हुन्छ । त्यतिबेला एमालेको पनि तल बैठक थियो । बैठकको उपस्थितिमा हस्ताक्षर भएको रहेछ । केपी ओलीले भोलिपल्ट बोलाएर धन्यवाद है तपाईहरुको हस्ताक्षर त्यहाँ प्रयोग गरेँ है भन्नुभएको रहेछ । यहाँ एउटा ‘रिक्स’पूर्ण काम गर्ने हो है साथीहरु भनेर गरेकै हो । त्यतिबेला लोकमानविरुद्ध सही गर्ने हो है भनेर गरेको भए त गर्नै सकिँदैन थियो ।’

उनले सो वार्ताको क्रममा लोकमानसिंह कार्की प्रकरण माओवादी लाइन समेत स्पष्ट पारेका छन् । उनले महाअभियोगको प्रस्ताव पारित हुनेमा विश्वास व्यक्त गर्दै भनेका छन्–‘मलाई के लाग्छ भने अहिले लोकतन्त्र चाहनेको नै बहुमत छ । संसदीय सर्वोच्चता नै कायम हुनुपर्छ भन्नेको बहुमत छ । विधिकै शासन हुनुपर्छ भनेर त लोकतन्त्र ल्याएको हो । त्यसैले महाअभियोग पारितै हुँदैन भन्ने मलाई लाग्दैन । यो पारित हुनेमा विश्वस्त छु ।’

महाअभियोगको प्रस्ताव एमालेको नभई माओवादीको प्रस्ताव रहेको समेत उनले जिकिर गरेका छन् । ‘प्रस्तावक त हामी हौं । संस्थागत रुपमा हाम्रो पार्टीको प्रस्तावबारे बाहिर के भ्रम गयो, मलाई थाहा भएन, संस्थागत रुपमा हाम्रो पार्टीको प्रस्ताव हो, एमालेको समर्थन मात्रै हो ।’ उनले भनेका छन्–‘यसमा मैले कुुनै पुष्टि गर्नुपर्छ र ? त्यो त प्रष्ट छ नि । यसमा कसैले कसैको पछि लागेको भन्छ भने त्यो गलत हो ।’

उनले लोकमानले प्रहरी, कर्मचारी र सेनासम्ममा आतंक मच्चाएको आरोप लगाएका छन् । नेताहरुलाई समेत उस्तै त्रसित बनाएको उनको कथन छ । 

‘राज्यमा भएको भ्रष्टाचार रोक्नका लागि, विधिको शासन स्थापना गर्नका र एउटा राजनीतिक सर्वोच्चता कायम गर्न हाम्रो पार्टीले गरेको पहलकदमी हो ।’ उनले भनेका छन्–‘यसमा पार्टीको अन्यथा छैन ।’