काठमाण्डौ । विद्यार्थी शून्यप्रायः हुन थालेपछि त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका केही विषयलाई निश्चित क्याम्पसमा मात्र पठनपाठन गराउने तयारी थालेको छ। 

उच्च शिक्षा हासिल गरेका आफ्ना विद्यार्थी अधिक संख्यामा बेरोजगार बनेपछि शैक्षिक गुणस्तर बढाउन सेमेस्टर प्रणाली अपनाउन थालेको त्रिवि अलोकप्रिय बन्दै गएका विषय हटाउने वा अन्य क्याम्पसमा समायोजन गर्ने टुंगोमा पुगेको हो। तर, यी विषयका प्राध्यापक\शिक्षक आफू संलग्न संघसंगठनमार्फत उक्त निर्णयको विरोधमा उत्रिएका छन्। 

मानविकीतर्फका अधिकांश विषय विद्यार्थी नभएका कारण खारेज हुने स्थितिमा छन्। विद्यार्थीविहीन केही विषयका शिक्षक भने हाजिर मात्र गरेर तलब बुझिरहेका छन्। समाज विकासमा महत्व राख्ने कतिपय विषयका पाठ्यक्रम समयसापेक्ष परिमार्जन हुन नसक्दा अलोकप्रिय बनेका प्राध्यापकहरूको मत छ। ती विषय धेरै क्याम्पसमा कायम राख्दा अनावश्यक आर्थिक भार परेको त्रिविको भनाइ छ। 

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत विषयगत आधारमा २२ केन्द्रीय विभाग छन्। त्रिविले विषयगत केन्द्रीय विभागमा पढाइने स्नातकोत्तर तहको कार्यक्रममा तीन वर्षदेखि सेमेस्टर प्रणाली लागू गरेको छ। २०७४ बाट भने राजधानीका स्नातकोत्तर तहका अन्य क्याम्पसमा पनि सेमेस्टर लागू हुँदैछ। विद्यार्थी नहुँदा कति विषय राख्ने र हटाउने भन्ने टुंगो भइसकेको छैन। उपत्यका बाहिरका अधिकांश क्याम्पसमा वार्षिक परीक्षा प्रणालीमै पठनपाठन भइरहेको छ। 

वार्षिक प्रणालीमा पढाइने अधिकांश विषय छेउ लागेका छन्। त्रिविले ती विषय राख्ने या हटाउनेबारे गत जेठमा प्राध्यापक ताराकान्त पाण्डेयको संयोजकत्वमा मानविकी संकायअन्तर्गतका ‘कार्यक्रम तथा विषय समायोजन कार्यदल’ गठन गरेको थियो। उक्त कार्यदलले उपत्यकाको छवटा आंगिक क्याम्पसलाई लिएर सुझावसहित प्रतिवेदन बुझाएको छ। 

त्रिविले उक्त प्रतिवेदनमा समेटिएको सुझाव कार्यान्वयन प्रक्रिया अघि बढाएपछि प्राध्यापक संघ, संगठन विरोधमा उत्रिएका छन्। मानविकी र सामाजिक शास्त्रका ३० वटा विषय छन्। प्रतिवेदनले कुनै पनि विषयमा १० जनाभन्दा कम विद्यार्थी आए भर्ना नलिन सुझाव दिएको छ । 

काठमाडौं उपत्यकाका आंगिक क्याम्पसमा पढाइने विषय समायोजन गर्न प्रतिवेदनमा सुझाइएको छ। ‘मानविकीतर्फका कार्यक्रम तथा विषयमा विभिन्न कारणले विद्यार्थी संख्या कम हुँदै गएका कारण कक्षा भारको सन्तुलन नमिलेको र त्रिविलाई आर्थिक बोझ बढेको देखिन्छ,’ प्रतिवेदनमा छ, ‘यस परिप्रेक्ष्यमा काठमाडौं उपत्यकामा मानविकी संकायका कार्यक्रम संचालित क्याम्पसहरुमा विषय, कार्यक्रम र शिक्षकहरुको समायोजन गर्न उपयुक्त देखिएको छ। 

विद्यार्थी संख्या अत्यन्त न्यून भएको र कक्षा भार पनि न्यून भएकाले ती विषयलाई सबै क्याम्पसमा संचालन गर्नुभन्दा निश्चित क्याम्पसमा, निश्चित विषय सञ्चालन गर्न दिने गरी १० जनाभन्दा कम विद्यार्थी हुने विषयहरुमा भर्ना नलिनु बेस हुनेछ।’ यो खबर आजको कान्तिपुरमा छापिएको छ ।