काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीको दुवै हातमा लड्डूू हालिदिने प्रस्ताव गरेको छ । 

यो लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई एकसाथ ३५ प्रतिशत सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो कम्पनीले १ सय प्रतिशत हकप्रद निश्कासनको समेत यसअघि नै प्रस्ताव गरिसकेको छ । 

यी तीनवटै अफरबाट लगानीकर्ता मालामाल हुने भएका छन् । 

पुस १३ गते सम्पन्न कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई सेयर र नगद लाभांश वितरणको डबल अफर दिने निर्णय गरेको नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनामा उल्लेख छ । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

अघिल्लो वर्ष यो माइक्रो फाइनान्स कम्पनीले आफ्ना सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो लघुवित्तले ६ करोड ९३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यसको चुक्तापूँजी २५ करोड ७९ लाख रुपैयाँ छ । ३५ प्रतिशत बोनस सेयर र त्यसलगत्तै १०० प्रतिशत हकप्रद समेत निश्कासन गरेपछि चुुक्तापूँजी ६० करोड ५० लाख रुपैयाँ पुुग्नेछ ।