काठमाण्डौ । ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली… जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ….।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु संगीतमा तरङ्गित भइरहेको थियो । खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो । कालजयी यस राष्ट्रिय गीतका स्रष्टा राष्ट्रकवि माधव घिमिरे मुस्कुराउँदै मञ्चतर्फ लम्किए । नब्बे वर्ष पार गरिसकेका वयोवृद्ध राष्ट्रकवि घिमिरे लौरोको सहाराले मञ्चमा पुगे । मञ्चमा पाइला राख्ने बित्तिकै भारतका राष्ट्रपति प्रणव मुखर्जीले ‘कवि जी, हाउ आर यु ?’ भन्ने भलाकुसारीका शब्द उच्चारण गरे । अङ्गेजी भाषाका ज्ञातासमेत रहेका राष्ट्रकवि घिमिरेले जवाफमा भने “आई एम फाइन, योर एक्स्लेन्सी ।” राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणमा बुधबार काठमाडौँ आएका छन् । 

राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भएको एक घन्टाको औपचारिक भेटपछि राष्ट्रपति मुखर्जी यहाँस्थित भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए । राजकीय निमन्त्रणामा आउने विशिष्ट व्यक्तिले आफ्नो दूतावासमा आयोजना गरिने स्वागत समारोहमा आमन्त्रित पाहुनाहरुसँग भेटघाट गर्ने परम्परा रहिआएको छ । 

तत्कालीन भारतका राष्ट्रपति के आर नारायणन् र श्रीमती उषाले पनि नेपालको राजकीय भ्रमणका क्रममा भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुँदा यसैगरी शीर्ष नेता, उद्योपति, कानुनविद्लगायत विशिष्ट व्यक्तिहरुसँग भलाकुसारी गरेका थिए । पूर्वराष्ट्रपति नारायणन्ले विस २०५५ जेठ १४–१६ मा नेपाल भ्रमण गरेका थिए । भ्रमणको पहिलो दिन नै भारतीय दूतावासले तत्कालीन राष्ट्रपति नारायणन्को सम्मानमा स्वागत समारोह आयोजना गरेको थियो । 

राष्ट्रकवि घिमिरे स्वागत समारोहका लागि मध्याह्न १२ बजे नै लैनचौरस्थित भारतीय दूतावासमा पुगेका थिए । “जीवनमा मलाई बडो आनन्द मिल्यो” – राष्ट्रपति मुखर्जीसँग हात मिलाएपछि उनले भने र दुई देशका राष्ट्रिय गानको धून बजाएर स्वागत समारोह सुरु र अन्त्य गरिएको थियो । हँसिलो मुद्रामा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँग राष्ट्रपति मुखर्जी मञ्चमा आसीन थिए। भेटघाटमा नेपालका लागि भारतका राजदूत रणजीत रायको सहभागिता थियो । 

मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइ दिने देउवाको विश्वास भारतीय राष्ट्रपतिसँग नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गरे । भेटपछि सभापति देउवाले राष्ट्रपतिको भ्रमणमा सहभागी भएका भारतीय सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै भारतीय राष्ट्रपतिको यस भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । नेपाल–भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेको र यस्ता विशिष्ट भ्रमणले जनस्तरको सम्बन्ध अझ सुदृढ हुने प्रतिक्रिया दिँदै उनले भने “नेपाल नयाँ संविधानको कार्यान्वयन गर्न लागिपरेको छ ।” 

भारतीय राष्ट्रपति मुखर्जीसँग नेका महामन्त्री डा शशाङ्क कोइराला, नेता डा शेखर कोइराला, सरकारमा सहभागी नेका र नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरुले भेट गरेका थिए । 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल, पूर्वसभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले पनि भेट गरेका थिए । 

यसैगरी, भारतीय राष्ट्रपतिसँग भेट गर्ने अन्य नेतामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायतका थिए । 

त्यस्तै, राष्ट्रपति मुखर्जीसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले भेट गरे । स्वागत समारोहमा आमन्त्रित व्यक्तिहरुसँगको भेटघाटमा राष्ट्रपति मुखर्जीले करिब आधा घन्टा समय व्यतित गरे । सोही क्रममा राष्ट्रपति मुखर्जीले इन्डियन हाउस गई त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।