काठमाण्डौ । कतिपय सूचकहरुले अर्थतन्त्र सवलउन्मुख गराएको राष्ट्रबैंकले दाबी गरे पनि निर्यातमा रहेको सामान्य वृद्धि र आयाततर्फको उच्च वृद्धिले मुलुक दिनहुँ थप परनिर्भर बन्दै गएको देखिएको छ । 

नेपाल राष्ट्रबैंकले चालुु आर्थिक वर्षको प्रथम ६ महिना अवधिको समीक्षामा यस्तो अवस्था देखिएको हो । यो अवधिमा कुल वस्तु निर्यात १४.८ प्रतिशतले वृद्धि भई  ३६ अर्ब २७ करोड पुुगेको छ । जबकि आयात चाहि ६७.३ प्रतिशतले वृद्धि भई ४६४ अर्ब ६१ करोड पुुगेको छ । 

समीक्षा अवधिमा भारततर्फ १७.१ प्रतिशत, चीनतर्फ ५४.८ प्रतिशत र अन्य मुलुकतर्फ १०.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर यार्न, ऊनी गलैंचा, तरकारी लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा भारतबाट भएको आयात ९५ प्रतिशत, चीनबाट भएको आयात ३४.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २९.५ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, एम.एस विलेट, मेशिनरी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ७४ प्रतिशतले बढी रु. ४२८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो ।

विदेश जाने घटे
विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएकोछ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४ को छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२.५ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले वृद्धि भई रु. ३४२ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ५.६ प्रतिशतले वृद्धि भई रु. ३९९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.५ प्रतिशतले बढेको थियो ।

बढ्यो शोधानान्तर बचत
अघिल्लो बर्षको छ महिनामा रु. १५७ अर्ब ५२ करोडको उच्च बचतमा रहेको चालू खाता समीक्षा अवधिमा वस्तु आयात उच्च दरले बढेको कारण रु. १ अर्ब ८ करोडले घाटामा गएको छ । त्यसैगरी, अघिल्लो वर्षको छ महिनासम्ममा रु. १३९ अर्ब ७५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ४५ अर्ब २ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु. ७ अर्ब ९३ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ७ अर्ब ३९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. ७ अर्ब ४१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. १ अर्ब ९३ करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चितिमा पनि वृद्धि
कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट ४.८ प्रतिशतले वृद्धि भई २०७३ पुस मसान्तमा रु. १०८८ अर्ब ८५ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७३ पुस मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई रु. ९२८ अर्ब ७४ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १५२ अर्ब २० करोडको तुलनामा ५.२ प्रतिशतले वृद्धि भई रु. १६० अर्ब ११ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७४ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.३ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.५ प्रतिशत, १०३.५ प्रतिशत र ४४.९ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका थिए ।

तेल र सुनको भाउ बढ्दै
केन्द्रीय बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम ९ऋचगमभ इष् िद्यचभलत० को मूल्य २०७२ पुस मसान्तमा प्रति ब्यारल अमेरिकी डलर २८.८४ रहेकोमा २०७३ पुस मसान्तमा ८८.५ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५४.३७ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७२ पुस मसान्तमा प्रति आउन्स अमेरिकी डलर १०८८.४० रहेकोमा २०७३ पुस मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर ११९०.३५ पुगेको छ ।

२०७३ असार मसान्तको तुलनामा २०७३ पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.१ प्रतिशतलेअवमूल्यन भएको थियो । २०७३ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०८.५४ पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर रु. १०६.७३ रहेको थियो ।