काठमाण्डौ । भारतमा दूरसंचार प्रदायक टेलिकम कम्पनीहरुबीचको मेगा मर्जरले सिंगो टेलिकम उद्योगमा त्रास फैलिएको छ । मेगा मर्जरका कारण सयौं कामदारहरुमा जागिर जाने त्रासले घर गरेको छ । 

भारतीय मिडियाहरुका अनुसार भारतमा टेलिकम कम्पनीहरुबीच हालसम्मकै सबैभन्दा ठूलो मर्ज हुन गइरहेको छ । विज्ञ र टेलिकम उद्योग संचालकबीच मेगा मर्जरका कारण कति संख्याले रोजगारी गुमाउँछ भन्ने बिषयमा मतभेद रहे पनि निकै ठूलो संख्यामा रोजगारी गुम्ने चाहि निश्चित छ। 

टेलिकम कम्पनीहरुको कुल आम्दानीमध्ये ४ देखि ४.५ प्रतिशत कर्मचारीमा खर्च हुने गरेको छ । तर, मेगा मर्जरपछि अर्को ठूलो चोट सेल्स र डिस्ट्रीब्यूसन सेगमेन्टमा पर्नेछ । 

एक विज्ञकाअनुसार विभिन्न टेलिकम कम्पनीको मुख्य कार्यालय र अन्य कार्यालयहरुमा काम गर्ने सयौंको जागिर अहिले धरापमा परेको छ । मेगा मर्जरका कारण भारतमा १० हजारदेखि २५ हजारसम्मको संख्याका टेलिकम कर्मचारीको जागिर जानसक्छ । मेगा मर्जरबाट हुने कर्मचारी कटौतिका कारण अप्रत्यक्ष रुपमा १ लाख बढी मानिस प्रभावित हुने प्रारम्भिक अध्ययनले देखाएको छ । 

एक अर्का भारतीय विज्ञलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ–‘मेगा मर्जरपछि अपरेसन, वर्कफोर्स तथा इन्फ्रास्टक्चरको अधिक भन्दा अधिक प्रयोगमा कम्पनी तल्लीन रहनेछ, यो कदमपछि २५ प्रतिशत कर्मचारी आवश्यक पर्ने छैनन । मर्जरमा सामेल एक कम्पनीका अधिकारीका अनुसार अबको एक वर्षभित्र कम्पनीमा कार्यरत एकतिहाई कर्मचारीलाई विदाई गरिनेछ ।’ 

भारतमा पछिल्लो समय आइडिया सेल्युलर र वोडाफोन पिएलसीबीच मर्जरको कुरा भइरहेको छ। यी दुुई कम्पनी रिलायन्स जियोलाई टक्कर दिन चाँडो भन्दा चाँडो एकसाथ हुन चाहन्छन् । यी दुुई कम्पनीले जियोलाई टक्कर दिनैका लागि केही समयअघि मात्र निःशुल्क डाटा र भ्वाइस सर्भिसको अफर दिएर बजारमा उथलपुुथल मच्चाइसकेका छन् । यस्तै, एयरसेल र अनिल अम्बानीको रिलायन्स कम्युनिकेसनबीच पनि मर्जरको कुरा भइरहेको छ । 

कम्पनीहरुको डाटाअनुसार आइडिया, वोडाफोन, आरकम र एयरसेल कम्पनीमा मात्रै ४८ हजार मानिस काम गर्छन् । विजिनेशमा कमी आए पनि टाटा टेलिकममा ७ हजार मानिस काम गर्छन् ।