काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबको १० महिनाका तीनै तह केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न होला त’ भनी जिज्ञासा राखेका छन् । भारतमा आतंकवादसम्बन्धी सम्मेलनमा भाग लिन आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा मोदीले त्यस्तो जिज्ञासा राखेका हुन् । 

निधिले आगामी वैशाख ३१ मा स्थानीय चुनाव र त्यसपछि क्रमश: प्रादेशिक तथा केन्द्रीय संसदको निर्वाचन तयारी भइरहेको बताएपछि मोदीले त्यस्तो जिज्ञासा राखेका हुन् । मोदीसँगको भेटपछि कान्तिपुरसँगको कुराकानीमा निधिले संविधान संशोधन तथा मधेसवादी दलहरूको मागबारे ‘स्पेसिफिक’ कुरा नभएको बताए । उनले स्थानीय चुनावका लागि आवश्यक पर्ने लजिस्टिक सहायताबारे मोदीलाई अनुरोध गरेको र सकारात्मक जवाफ पाएको बताए ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा भारतीय पक्षले निधिलाई मधेसवादी दलहरूका मागलाई सम्बोधन गरेर निर्वाचनमा जान आग्रह गरेको थियो ।

मोदी र निधिबीचको भेटपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा निधिले मोदीलाई नेपालको पछिल्लो विकसित घटनाक्रमबारे जानकारी गराएको उल्लेख छ । तर पछिल्लो घटनाक्रमबारे के उल्लेख भयो भन्ने खुलाइएको छैन । मोदीले निधिसँग सदीयौंदेखिको दुई देशको सम्बन्ध अझ सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताएको वक्तव्यमा उल्लेख छ । मोदीले नेपालले गर्ने आर्थिक र सामाजिक विकासका लागि भारतले सधैं सहयोग गर्ने बताएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

निधिसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनामा दु:ख व्यक्त गर्दै त्यसको निष्पक्ष छानबिन गर्ने र दोषी पाइएमा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामी घटनाका बारेमा सत्यतथ्य छानबिन गर्छांै र दोषी पाइएमा कारबाही गर्दछौं, यसमा नेपालले चिन्ता गर्नु पर्दैन,’ मोदीको भनाइ उद्धृत गर्दै निधिले भने ।

निधिले भने नेपालको अनुसन्धानले भारतीय सीमा सुरक्षा बलको गोलीबाट नै नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको देखिएको जानकारी गराएका थिए । नेपालले यस अगाडि नै भारतले मागेअनुसार पोस्टमार्टम रिपोर्ट उपलब्ध गराइसकेको छ । नेपालले भारतलाई पटक–पटक घटनाको सम्बन्धमा गल्ती स्वीकार गर्न आग्रह गरिसकेको छ ।

मोदीलाई जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमणको निम्तो
निधिले सरकारका तर्फबाट प्रधानमन्त्री मोदीलाई जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्नका लागि निम्तो दिएका छन् । निधिले मोदीलाई तीन ठाउँको भ्रमणका लागि अनौपचारिक कार्यक्रमसमेत बनाउन सकिने सुझाएका थिए । निमन्त्रणालाई मोदीले निकै खुसीका साथ लिएको निधिले बताए ।

निधिको भ्रमणलाई उच्च महत्त्व
उपप्रधानमन्त्री निधि विशेषगरी इन्डिया फाउन्डेसनले आयोजना गरेको आतंकवाद प्रतिवादसम्बन्धी सम्मेलनमा भाग लिन आएका हुन् । यो उनको औपचारिक भ्रमण होइन तर भारतले उच्च महत्त्व दिएको छ । निधिले भारतीय नेता, मन्त्रीहरूदेखि प्रधानमन्त्री मोदीसम्म भेटघाट गरेका छन् । भारत आउनुभन्दा अघि नै निधिलाई मोदीसम्म भेट गराउने आश्वासन दिइएको स्रोतको दाबी छ । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।