काठमाण्डौ । मधेसकेन्द्रित दलहरूले कुनै निर्वाचन हुन नदिने दाबी गरिरहेको बेला पर्सा सदरमुकाम वीरगन्जको मुख्य बजारमा मत माग्ने स्थानीय नेता–कार्यकर्ताको लर्को भेटिएको छ । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनताका लागि अति आवश्यक स्थानीय तह निर्वाचनको विरोध गरेपछि संविधानसभा निर्वाचनमा उनीहरूलाई सघाएका स्थानीय युवाहरूले स्वतन्त्र उम्मेदवार बन्ने जनाउँदै भोट माग्न थालेका हुन् । 

संविधानसभा निर्वाचनमा तमलोपालाई सघाएका युवाहरू वीरगन्ज–१२ निवासी मनोज कलवारको अगुवाइमा साबिकको वीरगन्ज उपमहानगरपालिका–१२ (हालको वडा नम्बर ९) स्थित वीरगन्जको मुख्य बजारका पसल–पसलमा पुगेर भोट मागेका हुन् । 

सोमबार दिउँसो उनीहरूले पसल–पसलमा पुगेर मत मागेका थिए । अहिले कुनै पार्टीबाट नभए पनि स्वतन्त्र रूपमा जनतासामु भेटघाट गर्न थालेको कलवारले बताए । 

‘पहिले विकासप्रेमी भएकाले विमल दाइका लागि भनी सघाएको हो । उहाँ तमलोपामा हुनुहुन्छ, अहिले हामी आफैं अघि बढ्ने निर्णयमा पुगेका छौं,’ पसलमा मत मागिरहेको अवस्थामा भेटिएका कलवारले राजधानीसँग भने । 

स्थानीय तह निर्वाचनमा कुन पार्टीमा लाग्ने भन्ने निक्र्योल भइनसकेकाले स्वतन्त्र रूपमा मत मागेको उनले बताए । ‘नेताले राजनीति जनताका लागि गर्ने हो, यति धेरै वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग नलिने भन्ने कुरा हुँदैन,’ उनले थपे । उनले तराई–मधेसमा चुनावी माहोल ल्याउनका लागि आफूहरू अघि सरेको प्रस्ट पारे । ‘भोटै मागेको त नभनौं, तर चुनावका लागि तयारी चाहि“ गरेकै हो,’ वीरगन्जका हरेक पसलमा पुगेर भेटघाट गरेका कलवारले भने । 

नेपाली कांग्रेसमा रहेका कौशल वर्णवाल पनि पार्टीले नदिए स्वतन्त्र उम्मेदवार बन्ने बताई पसल–पसलमा पुगेर मत मागे । उनी पनि कलवारसँगै भेटिएका हुन् । ‘पार्टीले नदिए पनि स्वतन्त्र उठ्न त कसैले रोक्दैन, पार्टीमा आफ्नो कुरा राख्ने हो, नदिए स्वतन्त्र उठ्ने हो,’ उनले भने । 

तराई–मधेसका अधिकांश युवाहरूलाई पछिल्लो संरचनाअनुसार आएको बजेटबारे कसैले पनि प्रस्ट जानकारी दिएका छैनन् । नेता मिलेर बाँडीचुडी खाने भएको कारण युवाहरूलाई कुनै जानकारी दिन नगरिएको र विनियोजन भएको बजेटबारे जानकारी पाए मधेसमा चुनावको विरोध हुनै नसक्ने व्यापारीहरूको भनाइ छ । 

उनीहरूले स्थानीय तहको अधिकारबारे जनताले जानकारी पाउनासाथ चुनाव रोक्न सम्भव नहुने बताए । ‘पेसा नै राजनीति हो भन्नेहरूले स्थानीय तहमा आएको करोडौं रकममा हालीमुहाली नगर्ने भन्ने प्रश्न हुँदैन । जिल्ला विकास समितिमा भन्दा बढी पावर स्थानीय तहको गाउँपालिकामा आएको छ । 

यो स्पष्ट सबैले बुझ्न पाउने हो भने मधेसका धेरै नेता–कार्यकर्ता स्थानीय तहको निर्वाचनमा सहभागी हुन्छन्,’ एक व्यापारी भन्छन् । 

त्यसो त हरेक दलमा नगरपालिकाको मेयरमा को उठ्ने ? भन्ने आन्तरिक चासो निकै बढेको छ । भर्खरै संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विजय सराबगी वीरगन्ज उपमहानगरपालिकाको मेयरमा चर्चा चुलिएको छ । 

कांग्रेस–एमालेका नेता–कार्यकर्ता पनि आन्तरिक छलफलसँगै टिकटका लागि दाउपेचमा लागेका छन् । नगरमा मात्र नभएर पर्साको सुदूरपश्चिममा रहेको ठोरी, सुवर्णपुर, निर्मल बस्ती, महादेवपट्टी र सेढवा गाविस गाभिएर बनेको सुवर्णपुर गाउँपालिकामा एमाले, कांग्रेस र माओवादी केन्द्रबाट को–को उठ्ने भन्ने चर्चा सुरु भइसकेका ठोरीका स्थानीय बताउँछन् । 

सो गाउँपालिकामा एमालेबाट ठोरीका पूर्वगाविस अध्यक्ष उद्धव सापकोटा र घनश्याम महत तथा सुवर्णपुरका लालबहादुर श्रेष्ठ, कांग्रेसबाट वृहस्पतिकृष्ण श्रेष्ठ र रामबहादुर श्रेष्ठ तथा माओवादी केन्द्रबाट रामप्रसाद कुँवर र पीएल श्रेष्ठमध्ये एक उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । 

फोरम लोकतान्त्रिक र फोरम नेपाल पनि सुवर्णपुर गाउँपालिकामा उम्मेदवार बनाउने गृहकार्यमा छन् । ‘दुवै दल चुनावको तयारीमा रहेका छन्,’ स्थानीय प्रेम लामाले भने । यद्यपि, उनीहरूको अवस्था निकै कमजोर रहेको उनी बताउँछन् । ‘मधेसी दलबाट गाउँपालिका प्रमुख जित्न त अहिले गाह्रो छ । यो गाउँपालिकामा एमाले, कांग्रेस र माओवादी केन्द्रकै प्रतिस्पर्धा हुन्छ,’ उनले भने । 

अर्को गाउँपालिका पटेर्वा सुगौलीमा पनि भित्रभित्रै राजनीति चहलपहल बढेको पटेर्वा सुगौलीका अनन्त चौधरी बताउँछन् । ‘सो गाउँपालिकामा कांग्रेसबाट भगवती चौधरीको नाम चर्चामा आइसकेको उनको भनाइ छ । ‘मधेसवादी दलको बलजफ्तीले मात्र अब हुँदैन । स्थानीय तहको निर्वाचन नहुने हो भने मधेसको विकासका लागि आएको रकममा कर्मचारीकै हालीमुहाली हुने हुँदा यो क्षेत्रको विकासका लागि पनि यहाँका जनप्रतिनिधि सक्रिय हुनैपर्ने अवस्था छ,’ कांग्रेस नेतृ भगवती चौधरीले राजधानीसँग भनिन् । 

संविधानमा समेट्नुपर्ने विषयसँगै स्थानीय तहको निर्वाचनमा सहभागी हुँदा नै मधेसवादी दललाई फाइदा पुग्ने उनको तर्क छ।