काठमाण्डौ । काठमाण्डौंको नयाँ बसपार्कमा केही समय अघि सञ्चालनमा आएको बीजी मलमा मोबाइलका पारखीहरुलाई लक्षित गरी आयोजना गरिएको मोबाइल एक्स्पोमा ५० लाख रुपैंयाको कारोबार भएको छ । 

मोबाइल एक्स्पोको आठौं दिनसम्ममा २५ हजार बढीले अवलोकन गरिसकेका बताइएको छ । हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजना सहित बीजी मलले मोबाइल एक्स्पोको आयोजना गरेको हो । 

‘हामीले जुन लक्ष्यका साथ मोबाइल एक्स्पोको आयोजना गरेका छौं, त्यसबाट हाम्रा ग्राहकहरुले भरपुर फाइदा लिन सक्नु भएको महशुस भएको छ । यसलाई २५ हजार जनाको उपस्थितीमा ५० लाखको कारोबार हुनुले पनि पुष्टि गर्छ।’ मलका अध्यक्ष बासु गिरीले भने ।

एक्स्पो अवधिमा ग्राहकले बीजी मलका सबै फेन्सी पसलबाट सामान खरीद गर्दा २० प्रतिशत छुट पाउने गरेका छन् भने उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन समेत पाइरहेका छन् । यस क्रममा बुधबारसम्ममा १६ जना भाग्यशाली विजेताले मोबाइल सेट उपहार स्वरुप प्राप्त गरिसकेका छन् । 

यसैगरी, १० हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने स्कीमको समेत लाभ लिइरहेका छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने छन् । एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थीहरुले विशेष उपहार पाउने अफर समेत दिइएको छ । मोबाइल एक्स्पोको अवसर पारेर यहि शनिबार बीजी मल परिसरमा भव्य सांगीतिक कार्यक्रम पनि आयोजना हुने बताइएको छ । 

सबै ब्राण्डका मोबाइल एकै छाना मुनी किन्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिएका छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको स्कीम समेत पाउने मलले जनाएको छ ।