आजको दुनियाँमा मोबाइल नचालउने युवा–युवती कमै होलान्। जीवनको अभिन्न अंग बनेको छ मोबाइल। मोबाइल बिना एकछिन बस्न नसक्ने भइसकेका छन् मानिस। अझ स्मार्टफोन मान्छेका हातहातमा पुगेपछि विशेषगरी युवा–युवती त्यसैको दासजस्तो बनेका छन्। सुत्दा सिरानीमै राख्ने, हिँड्दा हातैमा बोकिरहने, साथीभाइ–आफन्त भेटघाटमा पनि मोबाइलमै झुन्डिरहने, रातभरि च्याट र सामाजिक सञ्जालमा भुलिरहने युवा–युवति कैयौँ छन्।

कुनै पनि कुराको ठिक्क प्रयोग फाइदाजनक हुन्छ भने अधिकप्रयोग हानीकार। त्यस्तै हरबखत स्मार्टफोनमै रमाइरहनेहरुले पनि स्वास्थ्य, जीवनशैलीसँगै सम्बन्धहरु बिगारिरहेका हुन्छन्। एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार १८ देखि २९ वर्षसम्मका ६३ प्रतिशत युवा मोबाइल वा ट्याबलेटलाई बेडमा सँगै राखेर सुत्ने गर्छन्। पछिल्लो समय युवाहरु रातभरि नसुत्ने, सुत्नेहरु पनि निदाउन नसक्ने र डिप्रेसन बढ्नेमा केही हदसम्म स्मार्टफोनको प्रभाव देखिएको अनुसन्धानले भनेको छ।

हवार्ड मेडिकल स्कुलका प्राध्यापक डा. चाल्र्स ए सिजेइस्लरले एक अध्ययन मार्फत सेल फोन, स्मार्ट फोन र ट्याबलेटजस्ता उपकरणबाट निस्किएको कृत्रिम निलो प्रकाशले दिमागका न्युरोनलाई सक्रिय बनाउने र अधिकांश युवा रातमा सुत्न नसकेको खुलासा गरेका छन्। ‘नेचर साइन्स’मा प्रकाशित उनको अध्ययन अनुसार स्मार्टफोनममा अधिकांश समय युवा–युवती अनलाइनमा या सामाजिक सञ्जालहरुमा बिताउँदा डिप्रेसनजस्तो मानसिक रोगको शिकार हुने गरेका छन्। नयाँ–नयाँ उपकरणहरुले मानिसको दैनिकी सहज त भएको छ, तर अत्यधिक प्रयोगले समस्या पनि उब्जाएको छ।

निद्रा गायब
‘अर्गनाइजेनसनल बिहेभियर एन्ड ह्युमन डिसिजन प्रोसेस’को एउटा अनुसन्धान अनुसार राति ९ बजेपछि स्मार्टफोन चलाउने वा स्मार्टफोन मार्फत काम गर्ने व्यक्तिको निद्रा निकै कमजोर हुन्छ। स्मार्ट फोनमा लामो समयसम्म बस्दा हाम्रो दिमाग एकोहोरिने र दिमागले  पर्याप्त मात्रामा मेलाटोनिन हर्मन (यसले निदाउन सहयोग गर्छ) उत्पादन गर्न नसक्ने अनुसन्धानले देखाएको छ। मेलाटिनिन उत्पादनमा बाधा पुगेपछि हामी पर्याप्त सुत्न सक्दैनौँ।

यौन जीवनमा असर
स्मार्ट फोनको कुलतमा फसेका मानिसको यौन जीवन सुखदायी नहुने अध्ययनहरुले देखाएका छन्। स्मार्ट फोनमा राति व्यस्त हुने जोडीले यौन क्रियाकलापलाई बिर्सिरहेका हुन्छन्। स्मार्टफोनमा  आ–आफ्नो मन परेको भिडियो वा दृश्य हेर्दै मख्ख पर्दा या च्याटमा अरुसँग मात्र रामाउँदा कतिपय जोडीको सम्बन्धमा दूरी बढेको हुन्छ। मोबाइलमा हरबखत गेम खेलेर बस्नेहरुले पनि आफ्नो पार्टनरलाई समय दिन नसक्ने भएकाले एकअर्कामा भावना आदानप्रदान समेत नहुने गरेको अध्ययनले देखाएको छ। अमेरिकामा कम्प्युटर इन ह्युमन बिहेभियर नामक अध्ययनमा ८९ प्रतिशत युवायुवतीले फोन र त्यसको भाइब्रेसनबाट आफ्नो यौन जीवन प्रभावित भएको बताएका थिए।

निस्क्रिय जीवनशैली
मोवाइलमा गेम खेल्ने, फिल्म तथा भिडियो हेर्ने र इन्टरनेट चलाउँदा मानिसको जीवनशैली निक्रिस्य र असामाजिक बन्दै गएको केन्ट स्टेट युनिभर्सिटीको अध्ययनमा उल्लेख छ। अध्ययन अनुसार दिनमा १२ घण्टाभन्दा बढी स्मार्ट फोनमा बिताउने विद्यार्थीको फिटनेसन शून्य थियो। अध्ययनमा सहभागी मध्ये दुई घण्टा फोन प्रयोग गर्ने विद्यार्थीको शरीर भने निकै गठिलो र पुष्ट पाइएको थियो। स्मार्टफोनको प्रयोगले विशेषगरी किशोर–किशोरी र युवायुवतीलाई एक्लो बनाउनुका साथै समाजमा घुलमिल हुन नसक्ने बनाएको अध्ययनमा उल्लेख छ।

बढ्दो दुर्घटना
मोबाइल प्रयोगकर्तालाई मेसेजबाट पनि नराम्रो असर गरेको देखिएको छ। बाटोमा हिँडेको, भर्याङबाट झरेको, गाडीबाट उत्रिएको वा वाइकको पछाडि बसिरहेको बेला मोबाइलमा बजेको मेसेज टोनले ध्यानाकर्षण गरेर दुर्घटना हुने गरेका छन्। ड्राइभिङको समयमा उठाएका फोन वा तत्काल मेसेज हेर्नाले गर्दा सन्तुलन बिग्रिन गई दुर्घटना भएका उदाहरण पनि छन्।
ओहियो स्टेट युनिभर्सिटीले गरेको एक अध्ययनले सेलफोनकै कारण पैदलयात्रुको दुर्घटना दर बढेको जनाएको छ। त्यस्तै, एक सय ओटा अस्पतालमा गरिएको अर्को अध्ययनले स्मार्ट फोन प्रयोग गर्दा बाटोमा लडेर, पुलबाट खसेर, ठोक्किएर घाइते हुनेको संख्यामा वृद्धि भएको छ।

मानसिक रुपमा विक्षिप्त
आफ्नो फोन एकछिन नभेटिँदा वा हराउदा कति आत्तिनुहुन्छ? सम्भवत संसारकै सबैभन्दा बहुमूल्य वस्तु हराएजस्तो हुन्छ होला। किन मोबाइलप्रति हामी यस्तो आशक्ति देखाउँदैछौ? माबाइल सेक्युरिटी कम्पनी लुकआउटले गरेको एक अनुसन्धान अनुसार मोबाइल हराउने अधिकांश व्यक्ति ‘पेनिक’ हुने गरेका छन्। अध्ययनमा सहभागीमध्ये ७३ प्रतिशतले मोबाइल हराउँदा आफूलाई केही दिन सम्हाल्न असजिलो भएको बताएका थिए।

आफ्नो गोप्य तथ्यांकको खुलास, नयाँ किन्न लाग्ने खर्च, सुरक्षित राखिएका अभिलेखहरुको नष्ट आदि कारणले मानिसहरु मोबाइल हराउँदा चिन्तित हुने गरेको अधययनले देखाएको छ। त्यस्तै, बेलायतमा गरिएको एक अध्ययन अनुसार मोबाइल हराउने ६६ प्रतिशतलाई नोमोफोविया अर्थात् सेलफोन नहुँदा लाग्ने त्रासबाट पीडित भएको पाइएको थियो।
-Agency