काठमाण्डौ । आफ्नै पूर्व प्रक्षेपणलाई संसोधन गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालमा आर्थिक वर्ष २०७२/७३ मा मूल्यवृद्धि साढे ९ प्रतिशतसम्म पुग्ने नयाँ प्रक्षेपण गरेका छन् । 
 

आइतबार मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै गभर्नर नेपालले यस्तो प्रक्षेपण गरेका हुन् । 
 

भूकम्प र त्यसपछिको लामो नाकाबन्दीका कारण मुद्रास्फिति दर ९ दशमलव ४ प्रतिशत कायम भएको र यो दर आगामी ५ महिनामा समेत यही सेरोफेरोमा रहने गभर्नरको दाबी छ । केही दिनअघि अर्थमन्त्री विष्णु पौडेलले समेत बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दै मुद्रा स्फिति दर ९ दशमलव ५ प्रतिशतसम्म पुग्ने र आर्थिक वृद्धिदर २ प्रतिशतमा खुम्चिने प्रक्षेपण सार्वजनिक गरेका थिए । 
 

सरकारको प्रमुख आर्थिक सल्लाहकार समेत मानिने केन्द्रीय बैंकले समेत अमेरीकी डलरको मूल्य बढ्दै गएका कारण त्यसको असर नेपाली मुद्रामा परेको, भारतसँग नेपाली मुद्राको विनिमय दर स्थिर हुँदा भारतीय मुद्रास्फिती दर बढेर ५ दशमलव १  प्रतिशत कायम भएसँगै यसको सीधा असर नेपाली मुद्रा र अर्थतन्त्रमा परेको दाबी गरेको छ । 
 

गभर्नर डा. नेपालले असहज परिस्थितिका कारण यसअघि प्रक्षेपित ६ प्रतिशतको आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित हुने समेत नयाँ प्रक्षेपण गरे । 
 

‘अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएसँगै भारतीय र नेपाली मुद्रा कमजोर बनेको छ। विश्व अर्थतन्त्रमा मुद्रास्फिती दर घटेकाले नेपालको मुद्रास्फितीमा त्यसको सकारात्मक प्रभाव परे पनि अमेरीकी डलर बलियो भएपछि मुद्रास्फितीमा चाप पर्ने देखिन्छ।’ राष्ट्रबैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा भनिएको छ । 
 

आर्थिक वर्षको ६ महिने अवधिमा कुल आन्तरिक कर्जा २० दशमलव ७ प्रतिशतले तथा निजी क्षेत्रतर्फको कर्जा १७ दशमलव ५ प्रतिशतले बढ्ने राष्ट्र बैंकले अनुमान गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कुल आन्तरिक कर्जा २३ दशमलव ४ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीति सार्वजनिक गर्दा ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न उपभोक्ता मुद्रास्फिति साढे ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिइए पनि आपूर्ति व्यवस्था लामो समयसम्म असहज हुँदा आर्थिक गतिविधि ठप्प प्राय भई अघिल्लो लक्ष्य हासिल हुन कठीन देखिएको गभर्नर नेपालले बताएका छन् । डा. नेपालले लघुबित्त क्षेत्रको पुँजी बृद्धिको योजना पनि सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।