काठमाण्डौ । यो साता सुरुवातदेखि नै घटेको बजार निरन्तर ओरालो लागिरहेको छ । बजार स्थिर होला भन्ने आम अपेक्षाविपरीत दैनिकजसो बजार परिसूचक घटिरहेको छ । कारोबार रकममा भने सामान्य सुधार भएको देखिन्छ । 

मंगलबार सामान्य अंकले घटेको नेप्से परिसूचक बुधबार उच्च अंकले घट्यो । मंगलबारको तुलनामा बुधबार टर्नओभरमा भने केही सुधार भएको छ । आखिर बजार यसरी निरन्तर किन घटिरहेको होला ? 

अनुुभवी ब्रोकर तथा बजार विश्लेषक परमेश्वर प्रधान अहिले बजारमा किन्ने र बिक्री गर्ने मान्छे नै चूपचाप बसिरहेका दाबी गर्छन् । ‘किन्ने र बिक्री गर्ने मान्छेबीच खासै तालमेल मिलेको अवस्था छैन ।’ बजार घटिरहनुको कारण खुलाउँदै उनले बिजशालासँग भने–‘बिक्री गर्नेहरु बजार अझै बढ्छ भन्ने आशामा चूपचाप बसेका छन् भने खरीदकर्ता पनि बजार अझै न्यून बिन्दूमा झरोस् र अनि सेयर किनौला भनेर हातमा पैसा बोकेर बसिरहेका छन् ।’ उनको भनाईमा बिक्रीकर्ता र खरीदकर्ताको यही पर्ख र हेरको रणनीतिले नेप्से परिसूचकसँगै कारोबार रकमतर्फ पनि पहिरो गइरहेको देखिएको हो । 

फण्डामेन्टल रुपमा हेर्ने हो बजारको यो गिरावट निरन्तर नहुने उनको तर्क छ । ‘सबै बैंक तथा बित्तीय संस्थाहरुको नाफा उच्च छ ।’ उनले भने–‘हाम्रो सेयर बजार मनोविज्ञानको भरमा दौडिन्छ, अहिले भएको त्यही हो ।’ उनले बजार तत्काल धेरै घटेर क्र्यास नहुने र धेरै बुल भएर उति माथि पनि नजाने बताए । 

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्याल बजारमा सकारात्मक कुराहरु नहुँदा परिसूचक र कारोबार दुवै घटेको दाबी गर्छन् । ‘बजार तत्काल बढ्दैन ।’ उनले भने–‘अहिलेको अवस्थामा बजार स्थिर हुनुु नै ठूलो कुरा हो ।’ 

पौड्यालको विश्लेषणमा बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीहरुप्रतिको घट्दो आकर्षणले बजार घटाउन सहयोग गरिरहेको छ, कारण नेपालको सेयर बजार बित्तीय संस्था र बिमा केन्द्रीत छ । ‘तरलताको अवस्था पनि उस्तै छ, कर्जाहरु पनि ठप्प छन् ।’ उनले भने–‘बजारमा नाटकीय ढंगले बढोत्तरी हुने अवस्था चाहि देखिदैन ।’ लगानीकर्ताको हातमा प्रशस्त पैसा नभएको अवस्थामा एकपछि अर्को सार्वजनिक निश्कासन, हकप्रद भर्नुपर्ने बाध्यता लगायतले समेत बजारमा प्रभाव पारेको उनको भनाई छ । पुस मसान्तसम्ममा थप ठूलो रकम कर तथा राजश्वको रुपमा सरकारी ढिकुटीमा दाखिला भएको र सरकारले ढुकुटीमा जम्मा भएको रकम विकास निर्माणको नाममा खर्च गर्न नसक्दा लगानीयोग्य रकमको अवस्था थप जटिल बन्न गई सेयर बजारलाई समेत घटाइरहेको उनको भनाई छ । 

उनले समेत खरीदकर्ता र बिक्रीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा रहेकोले कतिपय सकारात्मक पक्ष हुँदा हुँदै पनि बजार निरन्तर घटिरहेको दाबी गरे । ‘बजार निकै तल झरिसकेको छ, यस्तो अवस्थामा सेयर बिक्री गर्दिँन, बरु होल्ड गर्छु भन्ने लगानीकर्ताहरु बढी देखिएका छन् ।’ उनले भने–‘सेलर बिक्री गर्न चाहदैन, बायर अझ सस्तोमा किन्न चाहन्छ, यसले समेत टर्नओभर घटाइरहेको छ ।’ 

यदि केही साताभित्रै सरकारी ढिकुटीको पैसा पुननिर्माण वा चुनावको घोषणा भएर चुनावी खर्चको रुपमा बजारमा आउने अवस्था भयो भने त्यसले सेयर बजारमा समेत सकारात्मक तरंग ल्याउने उनको विश्लेषण छ । उनले बजार तत्काल क्र्यास हुने अवस्थामा चाहि नपुुग्ने दाबी गरे । भने–‘बजारले ठूलो साइज लिइसकेको अवस्था छ । केही घटबढ होला, तर क्र्यास नै हुने अवस्थामा चाहि बजार नपुुग्ला ।’