काठमाण्डौ । सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ आग्रह गरेका छन् ।

आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने विवादलगायतका कारण भ्रमण स्थगित गर्न साँझ टेलिफोनमा देउवाले आग्रह गरेको स्रोतले बताएको छ । 

देउवाले एक उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने गरी बोआओ मञ्चको सम्मेलन र बेइजिङ पठाउन आग्रह गरेकोसमेत उनीनिकट स्रोतले बताएको छ ।

‘पछिल्लो घटनाक्रमबारे निकटस्थहरूसँग छलफल गर्ने क्रममा मंगलबार साँझ सभापतिले प्रधानमन्त्रीज्यूलाई फोन गरेर आग्रह गर्नुभएको हो,’ देउवानिकट स्रोतले भन्यो । तर, यसबारे प्रधानमन्त्री र देउवाको सचिवालयले आधिकारिक जानकारी दिएका छैनन् ।

परराष्ट्र स्रोतले भने प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको र यसबाहेक अन्य विषयमा जानकारी नआएको जनाएको छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।