वासिङ्टन । दुई सातापछि विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा राष्ट्रपति चुनाव हुँदै छ । डेमोक्र्याटिककी हिलारी क्लिटन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ ।

अमेरिकामा राष्ट्रपति चुनाव जति नजिकिँदै छ, यसको प्रचार–प्रसार पनि उत्तिकै बढिरहेको छ । राष्ट्रपतिका प्रत्याशीहरूले आ–आफ्नो दाबेदारी प्रस्तुत गरिसकेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि अमेरिकामा हुने राष्ट्रपति चुनावको सूक्ष्म तरिकाले विश्लेषण गरिरहेका छन् ।

अमेरिकन राष्ट्रपति चुनावको एक रमाइलो पक्ष पनि छ । त्यो हो, चुनावका क्रममा प्रयोग हुने शब्दहरू । अन्तर्राष्ट्रिय मिडियाहरूले चुनावका क्रममा हुने शब्दहरूको यसरी विश्लेषण गरेका छन् :

१. उम्मेदवारबीच तालमेल
राष्ट्रपति चुनावमा राष्ट्रपतिका उम्मेदवारले नै उपराष्ट्रपतिमा आफूनजिककालाई उठाउने गर्छन् । यस किसिमको संयन्त्रलाई उम्मेदवारबीचको तालमेल भनिन्छ । यस किसिमको संयन्त्रमा राष्ट्रपति र उपराष्ट्रपतिले एकसाथ चुनावी अभियान गर्छन् । एकै प्यानल निर्वाचित हुँदा कार्यसम्पादन पनि सजिलो हुन्छ । यसै कारण राष्ट्रपतिका उम्मेदवारले उपराष्ट्रपतिमा आफूनजिकका व्यक्तिलाई छान्ने गर्छन् ।

२. निर्णायक राज्य
अक्सर चुनावमा निर्णायक मत हुन्छ । अमेरिकाको ५० राज्यमा यस्ता पनि राज्यहरू छन्, जुन राज्यले कुन पक्षलाई मतदान गर्छन् भन्ने अन्तिम समयसम्म थाहा पाउन मुस्किल पर्छ । फ्लोरिडा, ओहायो र पेन्सिल्भेनिया राज्यले अन्तिम समयसम्ममा को कसको पक्षमा मतदान गर्छन् भन्ने थाहा हुँदैन । चुनावमा यी चार राज्यका मत निर्णायक हुन सक्छन् ।

३. जित्नेलाई मात्र मत
अमेरिकामा यस्ता राज्य पनि छन्, जो सधैँ सम्भावित विजयी उम्मेदवारलाई मात्र मत दिन्छन् । उनीहरू पराजित हुने उम्मेदवारको पक्षमा कहिल्यै मतदान गर्दैनन् । ती राज्यहरूले चुनावी अभियानअनुसारै मतदान गर्छन् ।

४. मतदान गर्ने अधिकार
हरेक नागरिकलाई मतदान गर्नेे अधिकार छ । अमेरिकनले यसलाई ‘विल अफ राइट्स’ भन्छन् । सबै नागरिकलाई अधिकारसम्पन्न गराउन १० पटक संविधान संशोधन भइसकेको छ ।

५. नीलो राज्य
नीलो राज्य भन्नाले डेमोक्र्याटिक पार्टीबाट उठेका उम्मेदवारलाई मात्र मत दिनेलाई जनाउँछ । ‘ब्लु स्टेट’ ले अहिलेसम्म डेमोक्र्याट पार्टीका उम्मेदवारलाई मात्र मत खसाल्दै आइरहेको छ ।

६. कांकस
पार्टीको समर्थन र कार्यकर्ताबीच हुने बैठकलाई कांकस भनिन्छ । यही कांकस बैठकले नै चुनावमा कुन व्यक्तिलाई राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गर्छ । हरेकपटकको राष्ट्रपति चुनावअघि कांकस बैठक बस्छ ।

७. पुरानो पार्टी
अमेरिकाको रिपब्लिकन पार्टीलाई ग्रेड ओल्ड पार्टी (सबैभन्दा पुरानो) भन्ने गरिन्छ ।

८. आर्थिक चलखेल
चुनावका क्रममा आर्थिक चलखेल नहुने भन्न सकिन्न । राष्ट्रपति चुनावका क्रममा एउटा यस्तो समूह सक्रिय हुने गर्छ, जसको काम नै आर्थिक चलखेल गरी आफूले भनेको उम्मेदवारको पक्षमा भोटिङ गराउनु हो । अमेरिकनले यसलाई हाड मनी भन्ने गर्छन् ।

९. कम हस्तक्षेपको अपेक्षा
चुनावको एउटा अर्को समूह पनि छ । जसको उद्देश्य नै सरकारद्वारा हस्तक्षेप कम होस् भनी चाहना राख्छ । उनीहरूको अर्को चाहना सरकारले मध्यमवर्गीय परिवारलाई कम ट्याक्स भर्न लगाउने हो । यस किसिमको चाहना पूरा गर्ने वचन दिने उम्मेदवारलाई मात्र उनीहरूले मतदान गर्छन् ।

१०. ओवल भवन
ह्वाइट हाउसपरिसरको पश्चिम दिशामा रहेको भवनलाई ओवल भवन भनिन्छ । यस भवनमा राष्ट्रपतिको मुख्य कार्यालय छ । राष्ट्रपतिले ओवल हाउसबाटै दैनिक कार्यसम्पादन गर्छन् । यसै भवनको नजिक अर्को भवन छ । जसमा राष्ट्रपति पढ्ने र शयन कक्ष छन् । अमेरिकन नागरिकले ओवल भवनप्रति चासो राख्ने गर्छन् ।

११. आफूखुसी निर्णय
राष्ट्रपति निर्वाचनका क्रममा प्रो च्वाइस (आफूखुसी निर्णय) शब्द सुनिन्छ । यो महिलासँग सम्बन्धित शब्द हो । यस समूहमा आबद्ध महिलाहरूले आफूखुसी गर्भपतन गराउने माग चुनावमा राख्छन् । उनीहरूले एजेन्डामा साथ दिने व्यक्तिलाई मात्र मतदान गर्छन् ।

१२. प्रो लाइफ
अमेरिकामा एकातिर आफूखुसी गर्भपतनको माग राख्ने समूह छ । अर्कोतिर यसको विरोधी समूह पनि छ । जसलाई अमेरिकन नागरिकले प्रो लाइफ भन्ने गर्छन् । प्रो लाइफ समूहले गर्भपतनको विरोधका साथै महिलाहरूलाई स्वतन्त्र छाड्न हुन्न भन्ने वकालत गरेको पाइन्छ ।

१३. कलेजी रङको राज्य
अमेरिकामा केही राज्यलाई कलेजी भन्ने गरिन्छ । कलेजी रङको राज्य जनाउनेले कुनै पनि वेला परिणाममा फेरबदल गर्न सक्छन् । एक समय उनीहरू डेमोक्र्याटिकको समर्थन गर्छन् । अर्को समय उनीहरू रिपब्लिकनको पक्षमा समर्थन गरिरहेका हुन्छन् । यस कारण चुनावका क्रममा कलेजी रङको राज्यको भूमिका अहम् मानिन्छ ।

१४. सुपर मंगलबार
राष्ट्रपति चुनावको एक मात्र समानता सुपर मंगलबार हो । राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेपछि हरेक मंगलबार प्रत्याशीहरूले अभियान चलाउँछन् । राष्ट्रपतिका उम्मेदवारले अहिलेसम्म पनि आफ्नो विशेष जनसभा वा चुनाव प्रचार गर्नुपरे मंगलबार नै रोज्छन् ।

१५. अपरिवर्तित राज्य
अमेरिकाका ५० मध्ये यस्ता राज्यहरू पनि छन, जसले चुनावका क्रममा समान मतदान गर्छन् । उनीहरूले दुवै उम्मेदवारलाई समानताका साथ हेर्ने गर्छन् । यसै कारण यस्ता राज्यहरूलाई अपरिवर्तित भनिन्छन् । यस किसिमको विचार राख्ने राज्यमा खासै चुनावी प्रचार–प्रसार हुँदैन ।

१६. टी पार्टी
निर्वाचन अघिसम्म टी पार्टी चुपचाप नै बस्छ । तर, निर्वाचनपछि टी पार्टीका सदस्यहरू डटेर लाग्छन् । उनीहरूको मुख्य कार्य नै चार वर्षसम्म राष्ट्रपतिले गरेका नराम्रा कामको विरोध गर्नु हो ।

१७. तेस्रो पार्टीका उम्मेदवार
मुख्यतः अमेरिकन राष्ट्रपति चुनावमा रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुन्छ । तर, यी दुई पार्टीलाई चुनौती दिन एक स्वतन्त्र उम्मेदवार पनि उठने गर्छन् । जसलाई तेस्रो पार्टी भनिन्छ ।

१८. ट्रम्प विश्वविद्यालय
यसपटकको चुनावमा ट्रम्प विश्वविद्यालयको चर्चा भइरहेको छ । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले  अन्य दुई साथीसँग मिलेर एक विश्वविद्यालय खोलेका थिए । ट्रम्प विश्वविद्यालय २००५–१० सम्म चलेको थियो ।

_Agency