काठमाण्डौ । आफू सत्तामा आउँदा लागिसकेको भारतीय नाकाबन्दी लामो समयको कसरतपछि बल्लतल्ल खुलाएर शुक्रबार ५२ सदस्यीय जम्बो टोलीका साथ आफ्नो प्रधानमन्त्रीत्वकालको पहिलो विदेश भ्रमणको रुपमा भारत जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ रहुञ्जेलल के के गर्लान् ?  को कोसँग भेट गर्लान् ? कहाँ कहाँ पुग्लान् ? समग्र उनको भ्रमण तालिकाको बिषयमा आम जनमानसमा चासो छ । यही चासोलाई मेट्ने उद्देश्यले उनको भ्रमण तालिकाको बिषयमा यहाँ जानकारी दिन खोजिएको छ । 

प्रधानमन्त्रीको भारत भ्रमणका केही महत्वपूर्ण जानकारी तथा उनको भ्रमण तालिका यसप्रकार छ :

औपचारिक भ्रमणमा प्रधानमन्त्री ओलीले ५२ सदस्यीय टोलीको नेतृत्व
शुक्रबार दिउँसो तीन बजे नेपाल वायु सेवा निगमको आरए २०५ विमानबाट दिल्ली प्रस्थान
इन्दिरा गान्धी विमानस्थलबाट ओली शुक्रबार सिधै राष्ट्रपति भवन जाने
शुक्रबार नै नेपाली राजदूतावासले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली रात्रीभोजमा सामेल हुने
फागुन ८ गते शनिबार बिहान प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमै राजकीय सम्मानसाथ स्वागत गरिने
औपचारिक स्वागतपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको स्मारकमा माल्यार्पण गर्नजाने
शनिबार दिनको सवा ११ बजे प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति भवनमै शिष्टाचार भेट गर्ने
प्रधानमन्त्री ओलीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता 
त्यस लगत्तै दुई देशका प्रधानमन्त्रीबीच औपचारिक वार्ता गर्ने कार्यक्रम 
शनिबार साँझ राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीसँग भारतीय गृहमन्त्री राजनाथ सिंह र त्यसलगत्तै बित्तमन्त्री अरुण जेट्लीको शिष्टाचार भेट
त्यसपछि ओलीले उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने, सोही साँझ सवा ६ बजे प्रधानमन्त्री ओलीको भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता हुने
फागुन ९ गते आइतबार प्रधानमन्त्री ओली तहरी हाइड्रो पावरको निरिक्षण गर्न जाने
फर्केपछि प्रधानमन्त्री ओलीले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने 
सोही दिन दिउँसो ४ बजे नेपाली दूतावासमा प्रधानमन्त्री ओलीले मिडिया अन्तरक्रिया र नेपाली समुदायसँग छलफल गर्ने
१० गते सोमबार प्रधानमन्त्री ओलीसँग भारतीय ऊर्जाराज्यमन्त्री र भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता
सोमबार नै प्रधानमन्त्री ओलीले भारतको विश्व सम्बन्ध परिषदलाई सम्बोधन गर्ने 
सोमबार साँझ ६ बजे प्रधानमन्त्री ओलीले भारतीय उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने 
मंगलबार प्रधानमन्त्री ओली गुजरातको भुजस्थित पुनर्निर्माण परियोजनाको निरिक्षण गर्ने
सोही साँझ ओली मुम्बई जाने र त्यहाँ महाराष्ट्रका गभर्नरले प्रधानमन्त्रीको सम्मानमा रात्रीभोज आयोजना गर्ने
१२ गते बुधवार प्रधानमन्त्री ओलीले मुम्बइका उद्योगी व्यवसायीहरुसँग छलफल गर्ने 
बुधवार साँझ ५ बजे प्रधानमन्त्री ओलीको स्वदेश फिर्ति ।