काठमाण्डौ । पहेँलो धातु सुनको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्ने क्रम अझै रोकिएको छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उछालसँगै यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । अन्तर्राष्ट्रिय बजारमा उकालो लागिरहेको भाउ र आन्तरिक बजारमा विवाहको मौसमका कारण बढेको मागका कारण समेत सुनको भाउ केही साताको अवधिमा उकालो लाग्ने क्रम जारी छ । 
 

नेपाली बजारमा सुनको भाउ माघदेखि उकालो लाग्ने क्रम सुरु भएको हो । यो क्रम अझै रोकिएको छैन । बीचका केही दिन सामान्य घटे पनि समग्रमा सुनको मूल्यको उकालो यात्रा जारी नै छ । २०७२ माघ १ गते  सुनको मूल्य प्रति तोला ४९ हजार ७ सय रुपैयाँ थियो । त्यसपछि सुनको भाउ बढ्ने क्रम अझै रोकिएको छैन । लगातार उकालो लागेको सुनको भाउ माघ २९ गतेसम्म आइपुग्दा प्रति तोला ५५ हजार ५ सय रुपैयाँ पुगेको थियो । 

फागुनमा समेत सुनको उकालो यात्रामा ब्रेक लागेन । लगातार बढेको माघ महिनाको मूल्यलाई निरन्तरता दिंदै सुनले नयाँ उचाई प्राप्त गर्यो । फागुन १२ गते सुनको भाउ प्रति तोला ५६ हजार ५ सय रुपैयाँ कायम भयो । विगत केही महिनाको अवधिमा सुनको भाउ यति उचाईँमा पुगेको थिएन । फागुन २५ गते(मंगलबार)सम्म आइपुग्दा ५६ हजार ५ सय भन्दा माथि उक्लिन सकेको छैन । तर माथि उक्लिने संभावना प्रवल रहेको विश्लेषकहरुले बताएका छन् । प्रति तोला सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ फागुन १२, १४, १८, २१ र २५ गते कायम भयो । तर यी मितिहरुको अघिपछिका केही दिनमा भने सुनको भाउमा सामान्य गिरावट देखियो । जस्तो यो साताको पहिलो दिन आइतबार र सोमबार ५६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ मंगलबार भने प्रति तोलामा ३ सय रुपैयाँले वृद्धि भई ५६ हजार ५ सय कायम भएको छ । 
 

सुनको मूल्य झैं चाँदीको भाउमा पनि उतारचढाव जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ ५६ हजार ५ सय कायम हुँदा चाँदीको भाउ चाहि प्रतितोलामा ५ रुपैयाँले घटेर ७२५ मा झरेको छ । आइतबार र सोमबार चाँदी प्रति तोला ७३० रुपैयाँमा कारोबार भएको थियो । 
 

चाँदीको भाउ फागुन २५ सम्ममा सबैभन्दा कम १९ र २० गते प्रति तोला ७१५ रुपैयाँ कायम भयो । सबैभन्दा बढी चाहि फागुन २ गते ७४५ रुपैयाँ कायम भएको थियो । चाँदीको भाउमा माघ महिनामा समेत उतारचढाव नै देखियो । माघ महिनाको ४, ५, ६ र १० गते चाँदीको भाउ सबैभन्दा कम प्रति तोला ६७५ रुपैयाँ कायम भएको थियो । यो भाउ माघ २९ गते बढेर प्रति तोला ७४५ रुपैयाँ पुगेको थियो । 
 

सुन अझै बढ्ने संभावना
अन्तर्राष्ट्रिय बजारमा सुन र कच्चा तेलको मूल्य बढ्ने क्रम रोकिएको छैन । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्ने क्रम मंगलबार पनि जारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरुका अनुसार सुनको भाउ डेढ वर्षकै सबैभन्दा माथिल्लो स्तरमा आइपुगेको छ । सुनको भाउ प्रति १० ग्राम १२७० डलर कायम भइसकेको छ । भारतीय बजारमा सुनको भाउ २९ हजार ८८० भारु पुगेको छ । चाँदीको भाउ समेत बढ्ने क्रम रोकिएको छैन । यसकारण समेत सुनचाँदीको भाउ नेपाली बजारमा अझै माथिल्लो स्तरसम्म पुग्नसक्ने देखिएको छ ।