काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार एभरेष्ट बैंकको सेयर कारोबार एकाएक चुलियो । अघिल्लो कारोबार दिनसम्म दैनिक साढे ३ करोडको हाराहारीमा कारोबार गर्दै आएको यो बैंकमा आइतबार लगानीकर्ताको आकर्षण ह्वात्तै बढ्नुको कारण थियो, बैंकबाट सुनियोजित रुपमा चुहाइएको संवेदनशील सूचना र त्यसले बजारमा पारेको प्रभाव । 

एभरेष्ट बैंकले केही दिनमै ७५ प्रतिशतसम्म हकप्रद र आकर्षक लाभांशको बम्पर अफर सार्वजनिक गर्ने हल्लाले एकाएक साढे ३ करोड कारोबार भइरहेको बजार २० करोडको उचाईमा पुग्यो । आइतबार एभरेष्ट बैंकको साधारण सेयर मात्रै २० करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो कारोबार दिन प्रति कित्ता अन्तिम मूल्य ३ हजार ५ सय ४४ रुपैयाँ रहेकोमा सूचना चुहिएका कारण आइतबार एकैदिन बजार मूल्य ३ हजार ६ सय  ५० रुपैयाँको उचाईमा पुग्यो । 

बैंककै अधिकारीहरुको योजनामा सेयर बजारमा चुहाइएको सूचनाका कारण सोमबार र मंगलबार पनि बजार प्रभावित भयो । सोमबार प्रति कित्ता सेयरमा ४० रुपैयाँको बढोत्तरी भयो भने मंगलबार पनि सेयर मूल्य बढ्यो । तीन दिनकै अवधिमा एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार ७ सय ६ रुपैयाँको उचाईमा पुगिसकेको छ । उकालोको यो क्रम रोकिने छाँट देखिएको छैन । 

आइतबार २० करोड ४३ लाख कारोबार गरेको एभरेष्ट बैंकले सोमबार १२ करोड ३५ लाख र मंगलबार १७ करोड ३४ लाखको कारोबार गर्यो । 

बैंककै सुनियोजित योजना
एभरेष्ट बैंकको उच्च व्यवस्थापनसँग निकट रहेका एक लगानीकर्ताका अनुसार बैंककै योजनामा यसरी हल्ला फैलाइएको हो । वास्तविक घोषणाअघि नै सूचना चुहाएर बजार प्रभावित पार्ने र आफ्नो कम्पनीको मूल्य बढाउने योजना अनुसार नै यो काम भएको ती लगानीकर्ताले दाबी गरेका छन् । ‘निश्चित लगानीकर्ताबाटै बजारमा यो हल्ला चलाउने र सेयर मूल्य बढाउने योजना अनुसार नै यो काम भएको हो ।’ ती लगानीकर्ताले बिजशालासँग भने–‘अन्य कम्पनीले जस्तै एभरेष्ट बैंकले पनि प्रत्येक वर्षको घोषणाअघि इन्साइडर ट्रेडिङको कालोधन्दा संचालन गर्दै आइरहेको छ ।’

एभरेष्ट बैंकको उच्च व्यवस्थापनले खाता खोल्ने नाममा केवाइसी भरेर नेपालका उच्च तहमा रहेका नागरिकहरुको संवेदनशील सूचना भारतीय स्वार्थमा दुरुपयोग गर्दै आएको आरोप समेत खेप्ने गरेको छ । नेपालको कानून सकेसम्म उल्लंघन गर्दै आएको यो बैंकले खुलेआम सुनियोजित रुपमै सेयर बजारमा इन्साइडर ट्रेडिङको धन्दा संचालन गर्दा समेत नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज मौन रहेका आरोप लगाइएको छ । 

सेयर मार्केटमा इन्साइडर ट्रेडिङ गर्नु अपराध हो । कुनै पनि कम्पनीको संचालक समितिको कुनै निर्णय वा संवेदनशील सूचनाको बिषयमा निर्णय भएको २ दिनभित्रै आम लगानीकर्तालाई जानकारी दिनुपर्ने  हुन्छ । तर यही गैरकानूनी काम गर्न पछिल्लो समय ठूला कम्पनीहरु सुनियोजित रुपमा लाग्ने गरेका छन् । 
कानून कार्यान्वयन गर्ने निकायको कमजोरीको फाइदा कम्पनीहरुले उठाउने गरेका सेयर बजार विश्लेषक अञ्जनराज पौड्याल बताउँछन् । उनकाअनुसार पछिल्लो समय नेपालको सेयर बजारमा इन्साइडर ट्रेडिङको ट्रेण्ड ह्वात्तै बढे पनि नियामक निकाय बेखबर बन्दा साना लगानीकर्तालाई मार परिरहेको छ । 

फस्टाउँदै इन्साइडर ट्रेडिङ
सेयर विश्लेषक अञ्जनराज पौड्यालको भनाईमा पछिल्लो समय सेयर बजारमा इन्साइडर ट्रेडिङको धन्दा फस्टाएको छ । ‘यसरी घोषणाअघि नै सूचना चुहिनु र घोषणा हुँदा चुहिएको सूचनाकै हाराहारीमा हकप्रद, लाभांश आउनु निकै संवेदनशील विषय हो ।’ उनले भने–‘विदेशमा भए यो ठूलो अपराध मानिन्थ्यो, यहाँको कानूनले पनि अपराध त मान्छ, तर कारबाही गर्ने निकाय मौन बस्दा यो धन्दा फस्टाउँदै गएको छ ।’ 

पछिल्लो समय कतिपय कम्पनीले गर्नसक्ने घोषणाको बिषयमा केही साता वा महिनाअघि बजारमा जे हल्ला चल्यो, घोषणा हुँदा पनि ठ्याक्कै त्यही कुरा मिल्ने गरे पनि यस्तो बिषयमा समेत नियामक निकाय गम्भीर नरहेका उनको भनाई छ । 

‘नियामक निकायको यही कमजोरीका कारणले होला पछिल्लो समय स्टक मार्केटमा इन्साइडर ट्रेडिङ ह्वात्तै बढेको छ ।’ पौड्यालले भने–‘वास्तविक सूचना पहिला नै चुहिने कारण घोषणा भइसकेपछि सेयर किन्ने उच्च मूल्यमा परेका छन् भने कतिपयले आधिकारिक घोषणा गरेको दिन समेत उनीहरुको सेयरले बजारमा खासै प्रभाव पार्दैन ।’ 

पौड्यालका अनुसार बजार तथा विभिन्न ठूला कम्पनीहरुको उच्च व्यवस्थापनसँग पहुँच हुने सीमित लगानीकर्ताले मिलेमतोमा इन्साइडर ट्रेडिङ गरी भरपूर फाइदा उठाउने गरेका छन् । यस्तो बेलामा निकै ठूलो कमिसनको खेल पनि हुने गर्छ । ‘यस्तो धन्दाले सबैभन्दा बढी पहुँच नभएका सामान्य लगानीकर्ता मारमा पर्दै आएका छन् ।’ पौड्यालले बिजशालासँग भने–‘मिडियाहरुले समेत हल्लाकै कुरालाई भाइरल बनाउने गरेका देखियो, यो कुरामा मिडिया पनि संवेदनशील बन्नुपर्छ ।’ 

हल्ला चलेको समयमा आएको कुरा र वास्तविक घोषणा हुँदाको तथ्य केलाएर फट्याई गर्ने कम्पनीमाथि नियामकले कडा कारबाही नगरे यस्ता धन्दा नरोकिने पौड्यालको दाबी छ । ‘हल्ला चलेजस्तै वा त्यही हाराहारीमा घोषणा भयो भन्नुको अर्थ सम्बन्धित कम्पनीबाट समयअघि नै सूचना चुहिएको वा सो कम्पनीले सूचनाको सुरक्षा गर्न नसकेको भन्ने प्रष्ट बुझाई हो ।’ उनले थपे–‘यस्ता घटनालाई विशेष प्राथमिकतामा राखेर छानबिन गरिनुपर्छ ।’

एक सूत्रका अनुसार यस्तो धन्दामा सम्बन्धित कम्पनी, धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीबीच पनि मिलेमतो हुने गरेको छ । 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नेपालको सेयर बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको स्वीकार गर्दै आफूहरुले सो बिषयमा भनेजस्तो गरी अनुसन्धान वा कारबाही गर्न नसकेको बताए । ‘अब हामीले जनशक्ति पनि थपेका छौ, घोषणाअघि नै हुने हल्ला र घोषणा हुँदा ताकाको वास्तविकता हेरेर आवश्यक छानबिन र कारबाही प्रक्रिया अगाडि बढाउँछौ ।’ उनले बिजशालासँग भने–‘तर लगानीकर्तालले हल्लाको पछि कुद्नु हुन्न ।’ उनले नेपालका कतिपय वाणिज्य बैंकका संचालकहरु नै इन्साइडर ट्रेडिङलाई बढावा दिन सूचना चुहाउने खेलमा लाग्ने गरेका उल्लेख गर्दै कुनै बैंकले यस्तो काम गरेन होला भन्न नसकिने बताए । उनले इन्साइडर ट्रेडिङलाई निरुत्साहित गरिए मात्र आम लगानीकर्ताको हित हुने बताए ।