काठमाण्डौ । सोमबार नेप्से परिसूचकमा तीव्र गतिमा पहिरो गएर दुुई दुुई पटकसम्म सर्किट ब्रेकर लागेको बजार उतराद्र्धमा भने नाटकीय ढंगले यूटर्न भई ४१ अंकको हाराहारीमा बढोत्तरी भयो । पूर्वाद्र्धमा २ पटकसम्म डरलाग्दो गरी पहिरो गएको बजार एकाएक कसरी बुम उन्मुख भयो होला ? के बजार बढ्नुुमा पनि हल्लाले नै काम गरेको हो ?

स्रोतका अनुसार तीव्र गतिमा घटेको बजार एकाएक बुम हुनुमा केही कारणहरु देखिए । बजारलाई सुनियोजित ढंगले घटाइरहेको गिरोह संभावित कडा निगरानी, छानबिन र कारबाहीको दवाबमा पर्यो भने लगानीकर्ताहरुको एक समूहले अर्थमन्त्री कृष्णबहादुर महरालाई गरेको भेटले समेत बजारमा निकै राम्रो प्रभाव जमायो ।

सेयर लगानीकर्ता संघको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री महरालाई पुल्चोकस्थित मन्त्री क्वार्टरमै भेट गरी सुनियोजित रुपमा घटाइएको बजारलाई सम्हाल्ने मेकानिजम सक्रिय बनाइदिन, बजार घटाउन सक्रिय गिरोहहरुलाई छानबिनको दायरामा ल्याई कारबाही गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज उदासीन देखिएका भन्दै चासो लिई लगानीकर्ताको करोडौं रक्षा गरिदिन आग्रह गरेको थियो । 

अर्थमन्त्रीले समेत धितोपत्र बोर्ड र नेप्सेको ढिलासुस्ती, लापरबाहीको बिषयमा तत्काल कडा एक्सन लिने, लगानीकर्ताहरुमाथि भइरहेको अन्यायको बिषयमा आफूू टुलुुटुलुु हेरेर नबस्ने र बजारमा चलखेल गर्नेहरुलाई नछाडिने कडा कुरा गरेपछि र सो कुरा बाहिर आएपछि त्यसले चलखेल गरी करोडौं कमाउने खेलमा लाग्नेहरु डराएका आभास भएको स्रोत बताउँछ । अर्थमन्त्रीको अभिव्यक्तिले अत्तालिएका लगानीकर्ताहरु आशाको संचार भएको थियो । 

के हो मार्जिन लेण्डिङ ?
 

प्राथमिक बजारमा विभिन्न कम्पनीले जारी गरेको धितोपत्रमा लगानी गर्न बित्तीय संस्थाले ऋण सुविधा उपलब्ध गराउनसक्ने व्यवस्था छ । नेपाल राष्ट्रबैंकको मार्जिन ऋण सम्बन्धी निर्देशन अनुसार कुनै कम्पनीले सेयर निश्कासन गरेको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन नपाउने र यदि ७ दिनमा पनि सो सेयर बिक्री हुन नसकेमा सेयरको माग गरिएको मूल्यको ५० प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरिएको छ । यसरी ऋण उपलब्ध गराउने तरिकालाई वित्तीय संस्थामा मार्जिन लेण्डिङ भनिन्छ । मार्जिन लेण्डिङ गर्दा बित्तीय संस्थाले आवेदन दिएको सेयर नै धितोको रुपमा राख्छन् र सेयर बाँडफाँड भई बाँडफाँडमा नपरेका तथा आंशिक रुपमा परेका लगानीकर्तालाई बाँकी रकम फिर्ता गरुञ्जेलसम्मको ब्याज लिने गर्छन् । यस्तो ब्याजदर बित्तीय संस्थापिच्छे फरक हुने गर्छ भने लगानी गर्ने रकमअनुसार पनि ब्याजदर फरक पर्ने गर्छ । वित्तीय संस्थाले ब्याजदरको अलावा सेवा शुल्कको रुपमा ऋणको निश्चित प्रतिशत रकम ऋणिबाट लिने गर्छन् र यो पनि वित्तीय संस्थाअनुसार फरक हुने गर्छ । 

अर्को एक स्रोतका अनुसार धितोपत्र बोर्ड र नेप्सेकै केही अधिकारीको मिलेमतोमा घटाइएको बजारलाई सम्हाल्न अर्थमन्त्रीले नै चासो दिएपछि तिनै अधिकारीहरुको इशारामा लगानीकर्ता, सरकारलाई झुक्याउन विभिन्न हल्ला फैलाएर बजारलाई एकाएक बढाइएको हो । 

‘अर्थमन्त्रालयले बोर्ड र नेप्सेका ती अधिकारीमाथि पनि निगरानी नगरे भोलिका दिनमा फेरि बजारले यही हविगत र तीव्र उतारचढाव भोग्नुपर्ने हुन्छ ।’ अर्थमन्त्रीलाई भनिएको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘बजारको यस्तो विकृतिको दीर्घकालीन समाधान निकाल्नुपर्यो ।’ 

सोमबार अन्तिम अवस्थामा एकाएक उछालको गतिमा बजार कुद्नुको एउटा कारण सेयर लगानीकर्ता संघसँग अर्थमन्त्रीको भेटपछि बाहिरिएको हल्ला तथा प्रवाह भएको सकारात्मक सन्देश पनि थियो । 

अर्थमन्त्रीसँगको भेटमा लगानीकर्ता संघका अधिकारीहरुले मार्जिन लेण्डिङको सीमा बढाइदिन आग्रह गरेका थिए । अहिले बजार मूल्यको ५० प्रतिशत पाइने मार्जिन लेण्डिङ ७० प्रतिशतसम्म पुर्याए लगानीकर्तालाई राहात हुने पनि अर्थमन्त्रीलाई आग्रह गरेका थिए । अर्थमन्त्रीले सो बिषयमा तत्काल नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल र धितोपत्र बोर्डका अध्यक्ष रेवत कार्कीसँग कुरा गरेर सहयोग गर्ने वचन दिएका थिए । 

यही कुरा लगानीकर्ता संघकै कोही अधिकारीबाट बजारमा फैलियो र मार्जिन लेण्डिङको सीमा ५० प्रतिशतबाट बढेर ७० प्रतिशत नै पुुग्दैछ भन्ने हल्ला भाइरल भयो । यही कारण समेत बजार अन्तिम अवस्थामा बुम भएको स्रोत बताउँछ । तर अर्थमन्त्री लगानीकर्ताको सो मागको विषयमा आफू सकारात्मक भएको र आवश्यक पहल गर्ने मात्र बताएका थिए । निर्णय नै भइसकेको भने थिएन । 

‘हामीले अर्थमन्त्री जीसँग मार्जिन लेण्डिङको सीमा बढाउने कुरा पनि गरेका हौं ।’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बिजशालासँग भने–‘उहाँले सो बिषयमा सम्बद्ध निकायका अधिकारीसँग छलफल चलाउने आश्वासन दिनुुभयो । आफूले पनि बजारलाई फलोअप गरिरहेको समेत बताउनुुभयो ।’ अध्यक्ष अर्यालका अनुसार लगानीकर्ताहरुले अर्थमन्त्रीलाई भेटेर बाहिरिएको सकारात्मक समाचारले समेत बजारलाई माथि उठाउन सहयोग गरेको हो । 

लगानीकर्ताहरुले अर्थमन्त्रीसँगको भेटमा ब्रोकरहरुलाई काठमाण्डौ केन्द्रीत मात्र गर्न नहुने, देशभरि उनीहरुको सेवा पुुग्यो भने माग बढ्न गई त्यसले बजारमा स्थायीत्व ल्याउने बताएका थिए । 

लगानीकर्ताको टोलीले नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष अनिलकेशरी शाहसँग पनि भेट गरेको थियो । सो क्रममा लगानीकर्ताहरुले बैंकहरुले समेत लगानीकर्ताको हित हुने व्यवस्थाको बिषयमा सोचिदिनुपर्नेमा जोड दिएका थिए । 

बोर्ड र नेप्सेको भूमिकामाथि प्रश्न !
लगानीकर्ताहरुको समूहले अर्थमन्त्रीसँगको भेटमा पूँजीबजारलाई सुधारको बाटो ल्याउन नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका जिम्मेवार अधिकारीहरु नै उदासीन बनेका आरोप लगाउँदै यो बिषयमा समेत गम्भीर बनिदिन आग्रह गरेका थिए । कारोबारमा अनलाइन प्रणाली सुरु गर्ने भनिए पनि यो वा त्यो बाहानामा बोर्डले हलो अड्काउने काम गरिरहेको र त्यसमा पहल लिइदिन लगानीकर्ताहरुले अर्थमन्त्रीलाई आग्रह गरेका थिए । ‘बोर्ड र नेप्से बजार सुधारको बिषयमा उदासीन देखिए, यहाँले तत्काल प्रभावकारी पहल गरिदिनुपर्यो । ’एक लगानीकर्ताको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘अनलाइन सेवा चाडो आउनुपर्यो । बजार बढाउने र घटाउने छिद्रहरु बन्द गर्न अर्थमन्त्रालय गम्भीर बनिदिनुुपर्यो ।’ 

लगानीकर्ताहरुले सुनियोजित रुपमा बजार निश्चित व्यक्तिहरुले कब्जा गरी घटाउने र बढाउने खेल भइरहेको दाबी गरिरहँदा अर्थमन्त्री महरा समेत यसप्रति सहमतजस्तै देखिएका थिए । ‘म गलत काम गर्नेलाई एक्सन लिन्छुुसम्म भन्नुुभयो ।’ एक लगानीकर्ताले भने–‘अर्थमन्त्रीको आश्वासनपछि धेरै लगानीकर्ता उत्साहित भएका छन् । ’