ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अलैंचीसँग बिजुली साट्न सुदुरपूर्वका जनतासँग प्रस्ताव गरेका छन् ।

ताप्लेजुङमा शुक्रबार पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा उनले अलैंचीबाट प्राप्त आम्दानी जलविद्युतमा शेयरको रुपमा लगानी गर्न आग्रह गरेका हुन् ।

“तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईको जीवनस्तरमा नसोचेको  सुधार आउनेछ ।” मन्त्री शर्माले भने-“यस क्षेत्रमा उत्पादन हुने अलैंचीले तपाईलाई जलविद्युतको मालिक बनाउनेछ ।” 

उनले ''नेपालको पानी जनताको लगानी'' कार्यक्रममार्फत आफूूले समाजवादी कार्यदिशा लागु गरेको तर्क गर्दै नयाँ संविधानले पनि समाजवादको बाटोमा अघि बढ्न स्पष्ट मार्गदर्शन गरेको बताए ।

नेपालमा रहेको अपार जलभण्डारको उपयोगमा जनतालाई प्रत्येक्ष सहभागी गराउने कार्यक्रम ऊर्जा मन्त्रालयले अघि सारेको भन्दै उनले जलविद्युतमा शेयर लगानी गरेर धनी हुन सर्वसाधारणलाई समेत आह्वान गरे । 

नेपालमा ८५ हजार मेगावाट विद्युत उत्पादनको संभाव्यता पहिचान भइसकेको अवस्थामा यही संभावनालाई वास्तविकतामा परिवर्तन गर्न सकिए सर्वसाधारण जनतालाई धनी बनाउन सकिने र देशलाई समृद्ध पार्न सकिने उनको तर्क छ । 

कार्यकर्ताहरुको व्यवस्थापन र जनताको जीवनस्तर सुधार गर्ने क्रमको शुरुवात हाइड्रो पावरबाट गर्न सकिने मन्त्री शर्माले दाबी गरेका छन् ।

देशलाई विद्युतीकरणको उत्कर्षमा पुर्याएर विकास गर्न सके मात्र राष्ट्रिय स्वाभिमान जोगाउन सकिने तर्क गर्दै मन्त्री शर्माले समृद्धिबिनाको स्वाभिमानको नारा कोरा कल्पना मात्र भएको टिप्पणी गरे ।