काठमाण्डौ । कार्यकर्ताको थामिनसक्नुको लर्को । गेटदेखि महाधिवेशनस्थलसम्म नाराबाजी गर्दै आफ्ना उम्मेद्वारको पक्षमा माहौल बनाउने अनेकन रामरमिता । महाधिवेशन प्रतिनिधि सहभागी महाधिवेशनको बन्दसत्रको माहौल झनै बेग्लै । कसैको टाउका खाली छैनन्, सबै ढाकोटोपीमा चिटिक्क सजिएका, एकाधले भादगाउँले कालोटोपी पनि लर्काएका छन् । पुरुष दिर्घाबाट आँखा मोड्यो, महिलाहरु पनि सभ्य र सौम्य साडी चोलोको पोशाकमा चिटिक्क परेर नेता तथा प्रतिनिधिका कुरा सुनिरहेका देखिन्छन् । ढाकाटोपी मिलाउँदै मञ्चमा आसीन नेताहरुसामु आफ्ना गुनासा, सुुझाव र पार्टी बनाउने सूत्रको पोका खोलिरहेका छन् । झट्ट हेर्दा अन्य समयमा हराएको राष्ट्रियताको सगोल दृश्य यही छ जस्तो ! नेपाल र नेपालीपनलाई माया गर्ने सिंगो देशका सारा जनता यही छन् जस्तो !

पोशाकमा मात्र राष्ट्रियता देखाएर सत्तायात्रामा मुसा प्रवृति देखाउने विगतको बानी यो दलका नेतृत्वकर्ताले त्यागेनन् भने कार्यकर्ताले पोशाकदेखि व्यवहार र प्रयोगमा समेत देखाएको राष्ट्रियता अर्थहीन बन्न पुुग्नेछ ।

शुक्रबारदेखि राजधानीको भृकुटीमण्डमा सुरु भएको राप्रपाको एकता महाविधेशन अन्य दलको भन्दा फरक देखियो । नेपालीपनलाई माया गर्नेहरुको लर्कोका कारण नेपालीहरुको असली पार्टी त राप्रपा पो हो कि क्या हो भन्ने भान आम सर्वसाधारणलाई पर्यो भने त्यसमा अनौठो नमान्दा हुने रोचक, घोचक र गज्जबका दृश्यहरु देखिए । 

हुन त यो पार्टीले महाधिवेशन उद्घाटन समारोहदेखि नै ठेट नेपालीपन प्रदर्शन गरेको थियो । अन्य पार्टीका महाधिवेशनहरुमा विदेशी शैलीमा अतिथिहरुलाई फूलको बुकीले स्वागत गर्ने चलनलाई राप्रपाले तोड्यो । राप्रपा महाधिवेशनमा अतिथिको रुपमा निम्त्याइएका प्रधानमन्त्री पुुष्पकमल दाहाल लगायतलाई दुुबोको माला लगाएर स्वागत गरियो । दुुबोको माला लगाएर अतिथिलाई स्वागत गर्ने संस्कार नेपालमा सदियौदेखि चलिआएको मौलिक संस्कार हो । 

महाधिवेशनमा आएका प्रतिनिधिहरुको पोशाकमा समेत राष्ट्रियता र नेपालीपन झल्कियो । शनिवार भृकुटीमण्डपमै संचालित महाधिवेशन बन्दसत्रमा सहभागी प्रतिनिधिमध्ये ढाकाटोपी नलगाउने प्रतिनिधि कमै मात्र थिए । ढाकाटोपी र दौरासुरुवाल नेपालीको शानको रुपमा विश्वमाझ चिनिन्छ । महाधिवेशनमा कुर्ता सलवार भन्दा साडीचोलोमा सजिने महिला कार्यकर्ता बढी देखिए । महाधिवेशनमा सहभागी प्रतिनिधिमध्ये ढाकाटोपी नलगाउनेले कागको बथानमा बकुुल्लोको महसुस गर्दै अप्ठ्यारो मानिरहेका देखिन्थे । ‘ढाकाटोपी नलगाई बन्दसत्रमा छिर्दा लाज लाग्यो ।’ रुकुमबाट आएका एक युवा कार्यकर्ताले भने–‘कतिपय दलका नेताले नेपालीपन कहाँ बाँकी छ भन्थे, उनीहरुलाई नेपालीपन, मौलिकता र राष्ट्रियता कहीँ बाँकी छ भने त्यो राप्रपा र यसका कार्यकर्तामा मात्र हो भन्ने उत्तर दिन मन लागेको छ ।’ 

त्यसो त अन्य दलको महाधिवेशनमा यस्तो दृश्य बिरलै देखिन्छ । धेरैपटक पत्रकारको रुपमा हामीले समाचार संकलन गर्न जाँदा समेत कार्यकर्ताको टाउकोहरुमा लहरै नेपाली टोपी लर्काएको बिरलै देख्न पाइन्थ्यो । तर, राप्रपाको महाधिवेशन बन्दसत्रमा छिर्दा देखिएको दृश्यले जोकसैलाई एकछिन भए पनि राष्ट्रिय पोशाक र राष्ट्रियता तथा मौलिकपनको बिषयमा सोच्न बाध्य बनाएको देखियो । 

अरु त अरु कतिपय उम्मेद्वारहरुले चुनाव प्रचार शैली समेत नेपाली पारामै गरे । केही उम्मेद्वारहरुले कार्यकर्तासँग भोट माग्न महाधिवेशन स्थलमा पञ्चे र नौमति बाजाको प्रयोग गरेको दृश्य समेत अनौठो देखियो । दलको महाधिवेशनमा अधिकांशको उपेक्षामा परेका यस्ता मौलिक बाजाको प्रयोग प्राय हुँदैन थियो । 

अर्कोतर्फ भोट माग्ने कतिपय कार्यकर्ता जातीय पोशाक र गहनामा सजिएर प्रचार सामाग्री बाँडेको दृश्य समेत विशेष आकर्षण बन्यो । 

शनिवार राप्रपाको महाधिवेशन स्थलको बाहिरी र बन्दसत्रको माहौल र दृश्य नियालिसकेपछि हामी भन्न बाध्य भयौं–‘यस्तो राष्ट्रियता अरुमा कहाँ ? यस्तो मौलिकपन अन्त कहाँ ?’ 

तर, पोशाकमा मात्र राष्ट्रियता देखाएर सत्तायात्रामा मुसा प्रवृति देखाउने विगतको बानी यो दलका नेतृत्वकर्ताले त्यागेनन् भने कार्यकर्ताले पोशाकदेखि व्यवहार र प्रयोगमा समेत देखाएको राष्ट्रियता अर्थहीन बन्न पुुग्नेछ । सत्ताको खेलमा समेत मौलिकपन र राष्ट्रियतालाई नभूूल्न कार्यकर्ताले सायद नेताहरुलाई दिएको गतिलो सन्देश पनि हुन् शनिवार हामीले देखेका दृश्यहरु ।