काठमाण्डौ । हिराजस्तो अरु केही हुन्न भन्ने कुरा हामीले धेरै सुनेका छौ, भनेका छौ । तर, अब वास्तविकता यस्तो रहेन । हिजोआज बजारमा यस्तो पत्थर आएको छ, जो केबल हिराजस्तो मात्र छैन, बरु कयौं पक्षमा हिरा भन्दा उत्कृष्ट र राम्रो छ । यो यति राम्रो पत्थर हो कि, हेर्दा मात्र होइन हिरा हो कि होइन भनेर पत्ता लगाउने मेसिनले समेत यसलाई हिरा नै भन्छ । यसमा सबै कुरा हिराजस्तै हुन्छ, तर मूल्य हिराको भन्दा २५ देखि ३५ प्रतिशतसम्म कम हुन्छ । 

हिरा निकै महंगो हुन्छ र यसलाई खरीद गर्नु सबैको ल्याकतले भ्याउँदैन । हिजोआज शहरिया वर्गका धनाढ्यहरु इन्गेजमेन्ट वा विवाहमा हिराको औंठीको प्रयोग गर्न मन पराउँछन् । तर सोच्नुुहोस् त हिरा भन्दा सस्तोमा यो  पत्थर पाइयो भने देख्नेलाई पनि हिरा नै भन्ने हुन्छ र तपाईको बजेट पनि कम भयो भने तपाईलाई भएन त फाइदा ? हिजोआज ठूला व्यापारी, उद्योगी तथा चलेका फिल्मी कलाकारहरुले समेत हिराजस्तै देखिने पत्थरको खरीदारी बढाएका सुनचाँदी व्यवसायीहरु बताउँछन् । 

हिराजस्तो अरु केही हुन्न भन्ने कुरा केही हदसम्म ठीकै होला । तर मोसेनाइट यस्तो पत्थर हो, जो हिराजस्तै हुन्छ । यसको चमक, फायर डिप्रेसन, हिट रेसिस्टेन्स, हार्डनेसको मामलामा यो हिराभन्दा पनि राम्रो छ । मानिसको आँखाको कुरा छाडिदिनुहोस्, हिरा चेक गर्ने मेसिनमा जब यो पत्थर राख्नुहुन्छ, त्यसले समेत यो पत्थरलाई हिरा नै बताइदिन्छ । तर यो पत्थर पनि निकै महंगो हुन्छ । विदेशमा धेरै मानिस तथा स्टारहरुले यसको गहना लगाउने गर्छन । 

यो पत्थर इलेक्ट्रिक कण्डक्टिीभिटीको माध्यमबाट पकडमा आउँछ । यसलाई एड्भान्स मेसिनले मात्र पहिचान गर्न सक्छ । हिरा चेक गर्ने मेसिनले यसलाई हिरा नै भन्छ, यसको चेकजाँचका लागि त्यो भन्दा एड्भान्स मेसिन चाहिन्छ । यसका लागि ठूला ज्वेलरीहरुले कि त मोसेनाइट चेकर मेसिन राख्छन् वा मल्टी टेस्टर मेसिन राख्छन् । पहिला पत्थरलाई डायमण्ड टेस्टरमा राखिन्छ, यदि मेसिनले यसलाई डायमण्ड बताइदियो भने प्रष्ट हुन्छ कि यो कि त हिरा हो या मोसेनाइट पत्थर । त्यसपछि मात्र यसलाई मोसेनाइट टेस्टमा राखेर जाँच गरिन्छ ।